१० वर्षदेखि ‘सेफ हाउस’ अलपत्र, भाडाको घरमा कार्यालय सञ्चालन

नगरपालिकाले भवन निर्माण अलपत्र छोडी निजी घर भाडामा लिएर सेफ हाउस सञ्चालन गर्दै आएको छ।

श्रावण २८, २०८२

सुमनजंग थापा

'Safe House' has been lying idle for 10 years, office is running in a rented house

What you should know

पर्वत — कुश्मामा निर्माणाधीन बालबालिका तथा हिंसा प्रभावितको सुरक्षा र अल्पकालीन आश्रय स्थल सुरक्षित घर (‘सेफ हाउस’) १० वर्षदेखि अलपत्र छ । कुश्मा नगरपालिका–५ बडगाउँस्थित कारागार छेवैको ८ रोपनी जमिनमा निर्माणधीन सेफ हाउस अलपत्र अवस्थामा परेको हो ।

२०७२ सालमा जिल्ला प्रहरी कार्यालय पर्वतमा डीएसपी रहेकी गंगा पन्तको नेतृत्वमा जनस्तरबाट रकम संकलन र श्रमदानसहित सेफ हाउस निर्माण अभियान सुरु भएको थियो । तर, उनले पर्वत छोडेसँगै निर्माणको गति पनि रोकियो । 

सुरक्षित घर निर्माण तथा उपभोक्ता समितिका कोषाध्यक्ष कमलनाथ पोखरेलले समितिबाट ९ लाख रुपैयाँजतिको काम भएको बताए । समितिको खातामा अहिले पनि ३ लाख ७५ हजार रुपैयाँ रहेको उनी बताउँछन् । ‘गंगा पन्त डीएसपी हुँदा समितिले राम्रै काम गरेको थियो,’ उनले भने, ‘पछि नगरपालिकाले निर्माणको जिम्मा लियो । हाम्रो खातामा भएको रकम नगरपालिकाले मौखिक माग गरेको थियो । मैले लिखित निर्णय नआएसम्म दिन्न भनेको छु ।’

कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले सेफ हाउसको भवन ठड्याउने बाहेक अरू कुनै पनि काम नभएको बताए । झ्याल, ढोका, रंगरोगन, शौचालयलगायतको काम सक्न अझ २० लाखजति खर्च लाग्ने उनको अनुमान छ । भवनको काम आफू निर्वाचित हुनुअघिदेखि नै सुरु भए पनि अहिलेसम्म नसकिनु नगरपालिकाकै कमजोरी भएको उनी बताउँछन् । 

‘भवन निर्माणको काम नागरिक स्तरबाट नै भएको होला भन्ने सोचेको थिएँ, तर रहेनछ । उपप्रमुख स्वस्थानी रिजालले अनुगमन गरेपछि मैले कार्य सम्पन्नको सिफारिस दिने बेलामा बल्ल थाहा पाएँ,’ उनले भने, ‘प्रदेश सरकारबाट आएको २९ लाख रकममा ठेकेदारले १९ लाखको काम गरेको रहेछ । कार्यपालिका बैठकमा भवन अलपत्रबारे कुरा पनि उठाएको थिएँ । कसैले सुनुवाइ गरेनन् ।’ 

देश तथा विदेशमा बस्ने नेपालीले पनि भवनका लागि रकम सहयोग गरेका थिए । सामाजिक सञ्जालमार्फत रकम उठाउने अभियान नै चलेको थियो । स्थानीय स्तरबाट उठाएको रकमको दुरुपयोग भएकामा उनीहरू चिन्तित छन् । ‘विदेशमा भएका बेलामा १० हजार रुपैयाँ सहयोग पठाएको थिएँ,’ स्थानीय साजन थापाले भने, ‘अहिले म देश फिरेको पनि ५ वर्ष बढी भयो । ओहोरदोहोर गर्दा अलपत्र भवन देख्दा आफ्नो पसिना खेर गएकामा दुःख लाग्दो रहेछ ।’ 

नगरपालिकाले भवन निर्माण अलपत्र पारेर निजी घर भाडामा लिएर सेफ हाउस सञ्चालन गर्दै आएको छ । नगरपालिकाले मासिक ६ हजार ६ सय रुपैयाँ घरभाडामा मात्रै खर्च गर्दै आएको छ । नगरपालिकाकी सामाजिक विकास शाखा अधिकृत डिलकुमारी शर्माले भदौ महिनादेखि आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने भने पनि भवन निर्माण नसकिएकाले समस्या आएको बताइन् । 

‘भवन निर्माणको काम सकिसक्नु पर्ने हो । तीन वर्षदेखि ७ लाख रुपैयाँका दरले प्रदेश सरकारबाट रकम पनि आइरहेकै छ,’ उनले भनिन्, ‘कामका लागि ठेक्का पनि दिएको हो । अहिले त्यहाँ हेर्दा कामै भएको देखिन्न । राज्यको पैसा दुरुपयोग भएको देख्दा दुःख लागेको छ ।’ उनले अनुगमन समितिकी संयोजक उपप्रमुख रिजाललाई फेरि यस विषयमा जानकारी गराएर छलफल माग गर्ने बताइन् । 

सुरुवातमा डीपीआर गर्दा सेफ हाउस १८ कोठे भवनसहित साढे २ तलाको थियो । १ करोड ५२ लाख रुपैयाँको लागत अनुमान गरिएको भवनमा महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै बस्न मिल्ने व्यवस्थित कोठासहितको भवन हुने बताइएको थियो । सुरक्षा गार्ड, भान्से र अन्य कर्मचारीका लागि पनि कोठाको व्यवस्था गरिएको थियो । तर अहिले एक तलाको भवन पनि अलपत्र अवस्थामा छ ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully