ग्रामीण क्षेत्रका सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा स्थानीयले दैनिक सास्ती भोगिरहेका छन् ।
म्याग्दी — लगातारको वर्षापछि कालीगण्डकी करिडोरअन्तर्गत राष्ट्र्रिय राजमार्ग बेनी–जोमसोम सडक दुई स्थानमा पहिरोले यातायात अवरुद्ध भएको छ ।
रघुगंगा गाउँपालिका-२ बेसरी नजिक रहेको सिरुबारी पहिरो र अन्नपूर्ण गाउँपालिका-३ दानाको सुकेबगरमा गएको पहिरोले बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको हो । दुवै स्थानका पहिरोले मनसुन सिजनभर बर्सेनि सडक अवरुद्ध हुने गरेको छ । बैसरीमा रातको समयमा पहिरो सडकमा थुप्रो लाग्ने र बिहानदेखि एक्स्काभेटर लगाएर पहिरो पन्छाई दिनमा यातायात एकतर्फी खोल्ने गरिएको छ ।
जिल्लाभित्रको पश्चिम भेग जोड्ने बेनी–दरबाङ सडकको पनि अवरुद्ध छ । अन्य ग्रामीण सडकहरुमा पनि स–साना पहिरोले यातायात अवरुद्ध छन् । बेनी नगरपालिका-४ सिङगा तातोपानी र मंगला गाउँपालिका-२ सिमलचौर जोड्ने फपरखेत पहिराले दैनिक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध हुने गरेको छ । पछिल्लो ३० वर्षदेखि फापरखेत पहिरोमा मनसुनमा निरन्तर पहिरोले सास्ती दिने गरेको छ ।
