कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले बनाएको बाँधमाथि नदीमा थुप्रेका गिट्टी, बालुवाका कारण हरेक वर्ष नदीमा पानीको सतह बढ्दै गएको छ ।
What you should know
पर्वत — पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेणीमा अवस्थित विराट् शालिग्राम शिलाको अस्तित्व संकटमा परेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका कारण शालिग्राम शिलाले आफ्नो स्वरूप गुमाउँदै गएको हो । कालीगण्डकी नदीको किनारमा रहेको शिला बर्खायाम लाग्नसाथ डुबानमा पर्दै आएको छ ।
परियोजनाका कारण सिंगो सेतीवेणी बजार पनि डुबानमा पर्ने खतरा बढेको छ । यहाँबाट ७ किलोमिटरको दुरीमा कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँध निर्माण गरिएको छ । ‘बाँधभन्दा माथि ठुला ढुंगा, गिट्टी, बालुवा थुप्रेर बसेका छन् । यसले नदीको सतह बढ्दै गएको छ,’ स्याङ्जा सेतीवेणीका डिल्लीराम भुसालले भने, ‘परियोजनाले कालीगण्डकीमा थुप्रने नदीजन्य सामग्री सफा गर्ने भनिए पनि बेवास्ता गरेको छ । जसका कारण शालिग्राम शिला मात्र नभई पूरै सेतीवेणी बजार नै डुबानमा पर्ने खतरा छ ।’
शिलाको अस्तित्व रक्षाका लागि धेरै ठाउँमा हारगुहार गरे पनि कसैबाट सुनुवाइ नभएको विहादी गाउँपालिका–६ का वडाध्यक्ष मनबहादुर बस्यालले बताए । ‘नदी छेउछाउका बस्ती विस्थापित भइसकेका छन् । बजारवासी पनि डरैडरमा बाँच्नु परिरहेको छ,’ उनले भने, ‘परियोजनाले बनाएको बाँधमाथि नदीमा थुप्रेका गिट्टी, बालुवाका कारण हरेक वर्ष नदीमा पानीको सतह बढ्दै गएको छ । राज्यले निकालेर आम्दानीको स्रोत बनाउन सक्नुपर्छ ।’
‘कालीगण्डकी ‘ए’ जलविद्युत परियोजना निर्माणअघि शालिग्राम शिला कालीगण्डकी नदीदेखि सय मिटर पर गुल्मीको बाटो भएर बग्थ्यो । जमिनमा गाडिएको भागबाटै शिला देख्न सकिन्थ्यो,’ वडाध्यक्ष बस्यालले भने, ‘अहिले विराट शालिग्राम हो भन्दा नपत्याउने स्थिति भएको छ । शिलाको माथिल्लो केही भाग मात्र देख्न सकिन्छ । बर्खा मात्र नभई हिउँदमै पनि शिला परिक्रमा गर्न सक्ने अवस्था छैन ।’
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले एक वर्षअघि तीन जिल्लाका समन्वय प्रमुख र सीडीओसहितको बैठक बसेर शालिग्राम शिला संरक्षणका बारेमा छलफल भएको बताए । ‘पहिले कालीगण्डकी नदी पारिपट्टि गुल्मीको बाटो भएर बग्थ्यो । अहिले त्यो भाग पूरै बगर भएको छ,’ पर्वत, स्याङ्जा र गुल्मीको बैठकमा आफूले राखेको कुरा सुनाउँदै उनले भने, ‘गुल्मीको खाली भएको बगरलाई खनेर नदी बग्ने बनाउने र शालिग्राम बचाउने प्रस्ताव राख्दा गुल्मीबाट ठाडै अस्वीकार भयो ।’
शालिग्राम शिलासँगै यस क्षेत्रका सत्तल लगायतका सबै संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि हरेक वर्षजस्तै तटबन्ध र ग्याबिन जालीसमेत निर्माण गरिँदै आएको भए पनि निष्प्रभावी बन्ने गरेको छ । स्याङ्जा र पर्वत सहित सेतेवेणी बजारमा विद्यालय सहित २ सयभन्दा बढी घर अवस्थित छन् ।
शालिग्राम शिलामा ठूली एकादशी र वैशाखे सङ्क्रान्तिमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । शिलामा आएर मनले आँटेको कुरा मागेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । नदी कटानका कारण हिउँदमा समेत शिलाको परिक्रमा गर्न सक्ने स्थिति छैन । श्रद्धालु भक्तजनले शिलालाई परिक्रमा गर्न नपाउँदा पूजापाठ अपूरो भएको महसुस गर्छन् ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको कालीगण्डकी जलविद्युत परियोजनाले १ सय ४४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको छ । २०५४ मा निर्माण आरम्भ गरिएको परियोजनाले २०५९ सालबाट विद्युत् उत्पादन गर्दै आएको हो ।
