विद्युत् परियोजनाका कारण शालिग्राम शिला डुबानमा, बस्ती असुरक्षित

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले बनाएको बाँधमाथि नदीमा थुप्रेका गिट्टी, बालुवाका कारण हरेक वर्ष नदीमा पानीको सतह बढ्दै गएको छ ।

श्रावण २५, २०८२

सुमनजंग थापा

Shaligram rock inundation due to power project, settlement unsafe

What you should know

पर्वत — पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेणीमा अवस्थित विराट् शालिग्राम शिलाको अस्तित्व संकटमा परेको छ ।  कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका कारण शालिग्राम शिलाले आफ्नो स्वरूप गुमाउँदै गएको हो । कालीगण्डकी नदीको किनारमा रहेको शिला बर्खायाम लाग्नसाथ डुबानमा पर्दै आएको छ । 

परियोजनाका कारण सिंगो सेतीवेणी बजार पनि डुबानमा पर्ने खतरा बढेको छ । यहाँबाट ७ किलोमिटरको दुरीमा कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको बाँध निर्माण गरिएको छ । ‘बाँधभन्दा माथि ठुला ढुंगा, गिट्टी, बालुवा थुप्रेर बसेका छन् । यसले नदीको सतह बढ्दै गएको छ,’ स्याङ्जा सेतीवेणीका डिल्लीराम भुसालले भने, ‘परियोजनाले कालीगण्डकीमा थुप्रने नदीजन्य सामग्री सफा गर्ने भनिए पनि बेवास्ता गरेको छ । जसका कारण शालिग्राम शिला मात्र नभई पूरै सेतीवेणी बजार नै डुबानमा पर्ने खतरा छ ।’

शिलाको अस्तित्व रक्षाका लागि धेरै ठाउँमा हारगुहार गरे पनि कसैबाट सुनुवाइ नभएको विहादी गाउँपालिका–६ का वडाध्यक्ष मनबहादुर बस्यालले बताए । ‘नदी छेउछाउका बस्ती विस्थापित भइसकेका छन् । बजारवासी पनि डरैडरमा बाँच्नु परिरहेको छ,’ उनले भने, ‘परियोजनाले बनाएको बाँधमाथि नदीमा थुप्रेका गिट्टी, बालुवाका कारण हरेक वर्ष नदीमा पानीको सतह बढ्दै गएको छ । राज्यले निकालेर आम्दानीको स्रोत बनाउन सक्नुपर्छ ।’ 

‘कालीगण्डकी ‘ए’ जलविद्युत परियोजना निर्माणअघि शालिग्राम शिला कालीगण्डकी नदीदेखि सय मिटर पर गुल्मीको बाटो भएर बग्थ्यो । जमिनमा गाडिएको भागबाटै शिला देख्न सकिन्थ्यो,’ वडाध्यक्ष बस्यालले भने, ‘अहिले विराट शालिग्राम हो भन्दा नपत्याउने स्थिति भएको छ । शिलाको माथिल्लो केही भाग मात्र देख्न सकिन्छ । बर्खा मात्र नभई हिउँदमै पनि शिला परिक्रमा गर्न सक्ने अवस्था छैन ।’ 

Shaligram rock inundation due to power project, settlement unsafeजिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले एक वर्षअघि तीन जिल्लाका समन्वय प्रमुख र सीडीओसहितको बैठक बसेर शालिग्राम शिला संरक्षणका बारेमा छलफल भएको बताए । ‘पहिले कालीगण्डकी नदी पारिपट्टि गुल्मीको बाटो भएर बग्थ्यो । अहिले त्यो भाग पूरै बगर भएको छ,’ पर्वत, स्याङ्जा र गुल्मीको बैठकमा आफूले राखेको कुरा सुनाउँदै उनले भने, ‘गुल्मीको खाली भएको बगरलाई खनेर नदी बग्ने बनाउने र शालिग्राम बचाउने प्रस्ताव राख्दा गुल्मीबाट ठाडै अस्वीकार भयो ।’ 

शालिग्राम शिलासँगै यस क्षेत्रका सत्तल लगायतका सबै संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि हरेक वर्षजस्तै तटबन्ध र ग्याबिन जालीसमेत निर्माण गरिँदै आएको भए पनि निष्प्रभावी बन्ने गरेको छ । स्याङ्जा र पर्वत सहित सेतेवेणी बजारमा विद्यालय सहित २ सयभन्दा बढी घर अवस्थित छन् । 

शालिग्राम शिलामा ठूली एकादशी र वैशाखे सङ्क्रान्तिमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । शिलामा आएर मनले आँटेको कुरा मागेमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । नदी कटानका कारण हिउँदमा समेत शिलाको परिक्रमा गर्न सक्ने स्थिति छैन । श्रद्धालु भक्तजनले शिलालाई परिक्रमा गर्न नपाउँदा पूजापाठ अपूरो भएको महसुस गर्छन् ।  

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको कालीगण्डकी जलविद्युत परियोजनाले १ सय ४४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको छ । २०५४ मा निर्माण आरम्भ गरिएको परियोजनाले २०५९ सालबाट विद्युत् उत्पादन गर्दै आएको हो । 

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully