मालढुंगा-बलेवा खण्ड पहिरो खसेर ठप्प छ, शनिबार बिहानदेखि अवरुद्ध सडक कहिले खुल्ने यकिन छैन ।
What you should know
बागलुङ — कालीगण्डकी करिडोरको बलेवादेखि रिडीसम्मको सडकखण्डको निर्माण गत जेठ अन्तिम साता सकियो । समयभन्दा ६ महिनाअघि ठेकदारले काम सम्पन्न गरेर आयोजनालाई हस्तान्तरण गरे ।
तर सोही खण्डमा वर्षा सुरु भएपछि नियमित पहिरो खसेर सडक अवरुद्ध छ । जैमिनी नगरपालिका-५ को बिनामारे र गुल्मीको कालीगण्डकी गाउँपालिका प्रवेशद्वार नजिकैको बरालबाँमा नियमित पहिरोले सवारी चल्नै सकेका छैनन् ।
करिडोरको निर्माणाधीन खण्ड मालढुंगा-बलेवा खण्डमा भने जथाभाबी ढुंगा उत्खनन र सामग्री निकासी गर्दा पहिरो खसेर सडक ठप्प छ । शनिबार बिहानदेखि रोकिएको सडक कहिले खुल्ने यकिन छैन । बागलुङ नगरपालिका-१३ को कालाखोलामा खसेको पहिरो तत्काल पन्छाउनै नसक्ने अवस्था छ ।
मालढुंगादेखि कालाखोलासम्म चार ठाउँमा ठेकदार कम्पनीले समयमा बाटो बनाउनुको साटो राम्रो सामग्री पाएकोले ढुंगा निकाल्ने काम गरिरहेको छ । पहरा फुटाएर ग्राभेल बनाई बिक्रीसमेत गरेको छ । यहाँको पहाडै किनेर सामग्री निकालिरहेको कम्पनीले काम भने ढिला गरेको हो । शनिबार खसेको पहिरो पनि ढुंगा, गिट्टी उत्खनन गरेकै स्थानमा गएको स्थानीयले बताए । ९९ करोड लागतको मालढुंगा-बलेवा खण्ड ‘बिडारी कन्स्ट्रक्सनले’ निर्माणको जिम्मा लिएको हो । उक्त खण्डको समय सकिए पनि काम पूरा नभएको हो ।
'पहिरो जाने गरी नै ढुंगा उत्खनन भइरहेको थियो, त्यसैले अहिले समस्या आएको छ,' वडाध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘समयमा काम सक्न धेरै प्रयास गरे पनि ठेकदारले काम ढिलाइ गरिरहे, अहिले फेरि पहिरोको जोखिम बढ्यो । ब्रेकर लगाएर पहरा फोडिरहेमा यस्ता दर्जनौं पहिरो खसेर सडक अवरुद्ध भइरहन्छ ।’ सडक जोखिम बढाउने गरी सामग्री उत्खनन गर्न दिँदा यो समस्या आएको उनले बताए । डिजाइनमा अन्यत्रकै ग्राभेल ल्याउने प्रावधान भएपनि पहरा र सामाग्री आउने देखेपछि ठेकेदारले पहाडै खनेर सामग्री अन्यत्रसमेत बेच्ने गरेका छन् ।
दुई दिनदेखि अवरुद्ध सडक खुलाउने काम भएको छैन । ढुंगा खसेकाले तत्काल खुलाउन नसकेपछि स्थानीयलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको प्रहरी नायव उपरीक्षक बसन्त रेग्मीले बताए । ‘समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘वर्षाले सहजै काम गर्ने वातावरण पनि छैन ।’ जथाभाबी सडक खनेकै कारण यो खण्डको एक्लेसालमा पनि पहिरो खसेको छ । यो पहिरोले त मालढुंगा कुश्मीसेराको अर्को सडक समेत जोखिम भएको छ । नियमित पहिरो खस्दा झरी परेको दिन सडक बन्द हुने गरेको छ ।
जथाभाबी पहरा खोपेकै कारण मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मादेखि बागलुङतर्फको सहश्रधारा, मालढुंगा र नयाँपुलमा पनि पहिरोको जोखिम छ । ती स्थानमा पानी पर्नासाथ गिट्टी थुप्रेर सडक अवरुद्ध भइरहन्छ । त्यसबाहेक ब्रेकरको थर्काहटले पुरानो भइसकेका पहिरोमा पनि अजंगका ढुंगा खसेर जोखिम भएको हो । गत साता खसेको अजंगको ढुंगा पन्छाउन नसकेपछि मालढुंगा नजिकै जोखिम मोलेर सवारी गुडिरहेका छन् । ‘लामो र रात्रिसेवाका बसलाई त धेरै जोखिम छ,’ धौलागिरि गण्डकी यातायात कम्पनीका अध्यक्ष उमेश केसीले भने, ‘दुई सातादेखि पहिरो पन्छाइएको छैन ।’ ब्रेकर लगाएमा थर्केर थप पहिरो जाने भएपछि तत्काल एकतर्फी मात्र सडक खुलाइएको लोकमार्ग आयोजना कार्यालयका इन्जिनियरले बताए ।
भित्तामा कोप्रो पारेर सडक खनिएकाले लोकमार्गकै बिहुँ, दुदिलाभाटी र मल्ममा पनि पहिरो खसेर पटक पटक सवारी अवरुद्ध भैरहेका छन् । एक सातामा तीन-चार पटकसम्म रात्रिबस र दिवा सेवाका सवारीसमेत रोकिएको गलकोट नगरपालिका-९ का अध्यक्ष तेजबहादुर थापाले बताए । ‘माथिल्लो खण्ड कोतरिकएको छ, तलको पहिरोले तानेको छ,’ उनले भने, ‘बेस बनाउने काम नगरी भित्ता फोड्ने कामले माथिल्लो बस्तीसमेत जोखिममा परेका छन् ।’
कतिपय स्थानमा भने डिजाइनमै त्रुटि देखिएपछि सडक जोखिमका बनेका हुन् । गलकोट-१ को झाँक्रीस्थानमा लोकमार्ग जोखिमको बनेको हो भने बागलुङ नगरपालिका-१० को एक्लेसाल र १३ को कालाखोलामा जोखिम बढेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । ती क्षेत्रलाई व्यवस्थित र दिगो विकासका दृष्टिले काम गर्न गराउन ठेकेदार कम्पनी र आयोजना कार्यालयमा आग्रह गरिएको उनले बताए ।
