दूधपोखरीमा नुहाउने क्रममा एकजना किशोर बेपत्ता

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले आइतबार दूधपोखरीतर्फ प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकसहित ५ जना गरी ९ जनाको टोली अन्य ४ जना सहयोगीहरुलाई लिएर गएको बताए ।

श्रावण २५, २०८२

आश गुरुङ

A teenager goes missing while bathing in Dudhpokhari

What you should know

लमजुङ — लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने दूधपोखरी कुण्ड (५,३०० मि.) मा नुहाउने क्रममा एकजना किशोर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयका अनुसार बेपत्ता हुनेमा लमजुङको क्व्होलासोथार गाउँपालिका-४, भुजुङका १८ वर्षीय मनोज गुरुङ रहेका छन् ।

साथीहरुसँग जनैपूर्णिमा नुहाउने जात्रामा निस्किएका उनी शनिबार बिहान दूधपोखरी पुगेका थिए । नुहाउने क्रममा बिहान ८ बजेतिर पौडी खेल्दै पोखरीको छेउबाट केही पर पुगेको र त्यसपछि हराएको उनका साथीहरुले बताएका छन् । उनीसहित ९ जना साथीहरु दूधपोखरी नुहाउने जात्रामा गएकोमा उनीहरु शुक्रबार राति थुर्जुमा बास बसेका थिए । क्व्होलासोथार गाउँपालिका उपाध्यक्षसमेत रहेका स्थानीय गमीमाया गुरुङका अनुसार नुहाउने क्रममा पोखरीको छेउबाट प्रवेश गरेका उनी पौडिँदै केही पर पुगेपछि हराएका उनका साथीहरुले बताएका छन् ।

उनलाई उद्धार गर्न उनका साथीहरु केही पर गए पनि उद्धार गर्न नसकेपछि फर्किएर टेलिफोनको नेटवर्क टिप्ने ठाउँबाट फोनमार्फत घटनाबारे जानकारी गराएका थिए । उनीहरु अन्यभन्दा केही ढिला पुगेको र अरु फर्किएका कारणले डुबेका साथीलाई उद्धार गर्न नसकेको उनीहरुले बताएका छन् । 

उपाध्यक्ष गुरुङले गाउँलेहरु आइतबार सबेरै घटनास्थलतर्फ गएको र साँझपख सकेसम्म थुर्जु पुगेर सोमबार बिहान घटनास्थल पुग्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले घटनाबारे जानकारी पाएपछि आइतबार दूधपोखरीतर्फ प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकसहित ५ जना गरी ९ जनाको टोली अन्य ४ जना सहयोगीहरुलाई लिएर गएको बताए । उनका अनुसार घटनास्थल मानवबस्तीबाटै २ दिन लाग्ने ठाउँमा रहेको र प्रहरीको उद्धार टोली जतिसक्दो चाँडो घटनास्थल पुग्नेछ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully