पहिरोको जोखिममा धार्मिक तथा पर्यटकीय गुप्तेश्वर गुफा

गुप्तेश्वर गुफामा डम्डरे खोलाको बाढीले चिन्ता थप्दै, संरक्षणका लागि सरकारी प्रयास अपर्याप्त रहेको स्थानीयहरूको भनाइ।

श्रावण २४, २०८२

सुमनजंग थापा

Religious and touristic Gupteshwar cave at risk of landslides

What you should know

पर्वत — कुश्मा नगरपालिका–४ मा रहेको सात तले गुप्तेश्वर गुफा पहिरोको जोखिममा रहेको छ । दुईवटा साना पहाडी टाकुराको खोँचमा गुफा रहेको छ ।

बर्खामा छेवैबाट बग्ने डम्डरे खोला ठूलो भएर बग्दा वारपारको जमिन कटान गर्नुका साथै खोलाबीचमा ठूला ढुंगाहरु भएकाले गुफा पहिरोको उच्च जोखिममा पर्ने खतरा रहँदै आएको हो ।

साँघुरो गल्छीमा बहने डम्डारे खोला दुई दशक अघि दुर्लुङको पहिरो आउँदा खोला गहिरिनुका साथै त्यसको वारपारसमेत फराकिलो बन्न पुगेको थियो । त्यो बेला आएको पहिरोले ठूलो ढुङ्गा समेत डम्डारे खोलाको बीचमा ल्याएको थियो । यस ढुङ्गाको समयमै व्यवस्थापन गर्न नसके खोलाको पानी गुफातर्फ बहने खतरा रहेको भू–जलाधार तथा व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्रले बताए ।

‘गुफा नजिकै आएर बसेको ठूलो ढुङ्गा हटाउन सकिएन भने गुफामा समस्या हुन सक्छ’, उनले भने, ‘बर्खामा तीव्र गतिमा आउने भेलबाढी आफ्नै बाटोमा बग्न नपाउँदा छेउ कुना हुँदै बग्नुपर्ने हुन्छ । त्यतिबेला चाहिँ गुफामा बाढी पस्ने सम्भावना उच्च हुन्छ ।’

उनले आफ्नो कार्यालयबाट गुफा संरक्षणका लागि चेकड्याम बनाउने देखि बायो इन्जिनियरिङको काम गर्दै आएको बताए । भन्छन्, ‘चेकड्याममा ग्रेगान भरिएकाले ड्यामको हाइट बढाउने काम गर्दै छौं । बायो इन्जिनियरिङ अन्तर्गत बाँस, अम्रिसो, नेपिएर, भुजेत्रो लगायतका बोटबिरुवाहरू वृक्षारोपण गरिरहेका छौं ।’

गुफा खोँचमा अवस्थित भएकाले माथिबाट सानातिना पहिरोहरू खसिरहन्छ । गतवर्ष गुफा परिसरमा रहेको राम मन्दिर नजिकैबाट पहिरो खसेको थियो । अहिले फेरि त्यही छेवैबाट पहिरो खसेको छ । 

सानो पहिरो खसेकाले गुफामा क्षति नपुगेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायले बताए । उनले गुफा संरक्षणका लागि सानोतिनो कामहरू सरकारी स्तरबाट भए पनि पर्याप्त नभएको बताउँछन् ।

गुफालाई मुख्य डर डम्डारे खोलामा बहने बाढी नै भएको बताए । दुर्लुङसम्म पुग्ने मोटरबाटो निर्माण गर्दा आएको पहिरो पटक–पटक आउने गरेको छ । ‘गुफाको बाहिरी भाग खोलाको छेउमा मेसिनरी वाल बनाउन सक्ने हो भने बर्खाको भेलले छेउ कुनामा क्षति गर्न सक्थेन’, उनले भने, ‘गुफाको दीर्घकालीन सुरक्षाका लागि राज्यले नै डिपिआर गरी ठूलो बजेट छुट्टाएर काम गर्न सक्नुपर्छ ।’

कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठले गुफाको पहिरो रोकथाममा वडाले बजेट हाल्न नसक्ने बताए । थोरै बजेट हालेर पहिरो रोकथाम गर्नुभन्दा संघीय अथवा प्रदेश सरकारले नै ठूलै रकम खर्चेर गुफाको संरक्षणमा लाग्नुपर्ने सुझाए । 

गायत्री मन्दिर भएर गुफा पुग्ने पदमार्गको डम्डारे खोलामा रहेको सिमेन्टेट पुल पहिरोले भत्काएपछि जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो । तर साउनमा भक्तजनको घुइँचो बढ्ने भएपछि समितिले केही समय अघि फलामको सिँढी निर्माण गरेको छ । 

साउनको महिना भएकाले गुप्तेश्वर गुफामा भक्तजनहरूको विशेष भिड हुने गरेको छ । तीनवटा सोमबार मात्रै पाँच हजार बढी भक्तजनहरू गुफा आएका छन् । उनीहरूबाट २ लाख २० हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।  

कुश्मा बजारदेखि १० मिनेटको दुरीमा अवस्थित यस गुफा पर्यटकीय तथा धार्मिक दृष्टिकोणले ज्यादै महत्त्वपूर्ण मानिन्छ । गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष पृथ्वी नारायण शर्माले गुप्तेश्वर गुफा संसारकै सबै भन्दा लामो र सात तले गुफा भएको दाबी गर्छन् । भन्छन्, ‘संसारको लामो गुफा भन्ने कुरा नापे थाहा हुन्छ, सात तले पनि हेरे थाहा हुन्छ ।’

पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ । किंवदन्ती अनुसार महादेव र पार्वतीबीच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्त बास बसेकोले यो गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भनिएको भन्ने पनि छ ।

प्राकृतिक निर्मित गुप्तेश्वर गुफा ९० वर्ष पहिले स्थानीय रत्न बहादुर कार्कीले गाई/बाख्रा चराउन जाँदा देखेका थिए । गुफाको महत्त्वलाई प्रचार–प्रसार गर्दै उल्लेख्य पर्यटकहरू भित्र्याउने उद्देश्यले १५ रोपनी जग्गामा ७८ फिट अग्लो शिव पार्वतीको मूर्ति, सिसमहल र मन्दिर निर्माणको काम चलिरहेको छ ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully