अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले चामेदेखि माथिल्लो मनाङका १९ रुटको नयाँ भाडा दर जारी गरेको छ।
What you should know
लमजुङ — हिमाली जिल्ला मनाङको माथिल्लो मनाङमा सवारीसाधनमा यात्रा गरेबापतको भाडा दर आधा घटेको छ। जिल्ला प्रशासन कार्यालय मनाङले यातायात व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर भाडा दर समायोजन गरेको हो।
सदरमुकाम चामेदेखि माथिल्लो मनाङका विभिन्न गाउँसम्म एक दशकदेखि जिप सञ्चालन भइरहेको छ। प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार सदरमुकाम चामेदेखि करिब ३५ किलोमिटर दुरीमा रहेको खाङ्सारसम्म यसअघि प्रति व्यक्ति १ हजार ५ सय रुपैयाँसम्म भाडा लिने गरिएकोमा अहिले ७ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। कायम गरिएको भाडा दर भदौ १ गतेदेखि लागू हुने उनले बताए।
प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षतामा शुक्रबार बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले सदरमुकाम चामेबाट माथिल्लो मनाङको १९ वटा रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा दर कायम गरेको हो।
जिल्ला समन्वय समितिका प्रमुख चीनबहादुर घलेसहित चामे, मनाङ ङिस्याङ, नासों गाउँपालिका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, यातायात व्यवस्था कार्यालय दमौली, तनहुँका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, पूर्वाधार विकास कार्यालय प्रतिनिधि, मर्स्याङ्दी यातायात प्रालिका प्रतिनिधि, यातायात व्यवसायी तथा अन्य सरोकारवाला स्थानीयको उपस्थितिमा भाडा दर कायम गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
उनका अनुसार यसअघि चामेदेखि माथिल्लो मनाङसम्मको २९ किलोमिटरमा १ हजार २ सय ५० रुपैयाँ रहेकोमा अहिले ५ सय ९० रुपैयाँ कायम गरिएको छ। माथिल्लो मनाङ नपुग्दै भ्राकासम्मको २७ किलोमिटरमा ५ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। मनाङमाथि टंकी मनाङसम्मको ३० दशमलव २८ किलोमिटरमा ६ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चामेदेखि हुम्डे र मुङ्जेसम्मको भाडा १ हजार २ सय ५० रुपैयाँ रहेकोमा अहिले क्रमशः ४ सय १० र ५ सय २० रुपैयाँ कायम गरिएको छ।
प्रशासनले स्थानीय जनता, जनप्रतिनिधि, होटल व्यवसायीको माग, यातायात व्यवसायीको प्रस्तावित भाडा दर, सडक खण्डको अवस्था, उचाइ (अल्टिच्युड), भूगोललाई मध्यनजर गरी भाडा कायम गरिएको र भविष्यमा सडक खण्डको अवस्थामा आएको सुधार तथा इन्धनको मूल्य घटबढ हुँदा नियमित पुनरावलोकन गर्ने सहमति भएको जनाएको छ।
जिपको भाडा दर कच्ची सडकमा प्रति किलोमिटर १९ रुपैयाँ ५० पैसा र पक्की सडकमा प्रति किलोमिटर ७ रुपैयाँ ५० पैसा कायम गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। यो व्यवस्थाको पालना तथा कार्यान्वयन नभएको पाइएमा कानुन बमोजिम कारबाही गरिने उनले चेतावनी दिए।
