पहिरोले सुपर न्यादी जलविद्युत्‌ आयोजनाका १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत अन्दाजी ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रावण २४, २०८२

आश गुरुङ

1 worker of Super Nyadi hydropower project was killed and 3 seriously injured due to landslide

What you should know

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लागेर शनिबार एकजनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । 

पहिरोले लाग्दा ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत अन्दाजी ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । बेंसीसहर नगरपालिका-८, मा अस्थायी रुपमा बस्दै आएका उनको स्थायी बासस्थानको पहिचान हुन बाँकी रहेको प्रहरी र आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माण कम्पनीमध्ये जी एण्ड जी इन्फ्रा प्रालिका तर्फबाट मेकानिकल काम गर्दै आएका गुरुङसहितका कामदारहरु शनिबार दिउँसो क्याम्पमा खान खाने बेला एक्कासी भीरबाट पहिरो झरेको थियो । पहिरोले लागेपछि गुरुङको घटनास्थलमै मृत्यु भएको आयोजना स्रोतले बतायो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले शनिबार दिउँसो ३ बजेतिर घटनाबारे जानकारी पाएको र बाहुनडाँडा प्रहरी चौकीबाट प्रहरी खटाएको बताए । प्रहरीसहित कामदारहरुले ४ जनाको उद्धार गरेकोमा गुरुङ मृत अवस्थामा भेटिएका थिए । पहिरो लाग्दा गुरुङको मृत्यु भएको र घाइते ३ जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको उनले बताए । 

दोर्दी गाउँपालिका-५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका-७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक गाउँपालिका-६ बस्ने २५ वर्षीय विकास विष्ट घाइते भएका छन् । घाइतेहरुको टाउको, हातखुट्टा, ज्यानमा चोट लागेको छ । उनीहरुलाई बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

क्याम्पमा ४० जनाको हाराहारीमा कामदारहरु बस्दै आएको र पहिरो खस्न थालेपछि भाग्ने क्रममा ४ जनालाई पहिरोले लागेको र अन्य ३६ जना सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully