पोखराका ताल संरक्षण र रोजगारी सिर्जनामा लक्ष्मी ग्रुपको साथ

पोखराका तालहरूको सफाइ, झार व्यवस्थापन, र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा लक्ष्मी ग्रुप र महानगरले सहकार्य गर्ने समझदारी भएको छ।

श्रावण २२, २०८२

दीपक परियार

With Lakshmi Group in Lake Conservation and Job Creation in Pokhara

What you should know

पोखरा — पोखराका तालको सरसफाइ तथा रोजगारी सिर्जनामा व्यापारिक घराना लक्ष्मी ग्रुपले साथ दिने भएको छ । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसनबीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको हो ।

बिहीबार पोखरामा महानगर प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे । पोखराबाट आफ्नो व्यवसाय सुरु गरी नेपालको अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग गर्न लागेको हो ।

लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठका अनुसार महानगर क्षेत्रमा रहेका तालको लेउ सरसफाइ र जलकुम्भी लगायत झारको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, महानगरद्वारा सञ्चालित गण्डकी बहुप्र्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढंगले परियोजना सञ्चालन हुनेछ । ‘यो परियोजनाले पोखराको पर्यावरणीय संरक्षण, पर्यटन विकास र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ,’ उनले भने ।

समझदारी अनुसार लक्ष्मी ग्रुपले देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन गर्नेछ । जलकुम्भीबाट हस्तकलाका सामग्री उत्पादन तथा प्रशोधनका लागि ३ सयजनालाई तालिम तथा प्रशिक्षण दिइने छ । ग्रुपले महानगरभित्रका एक हजार विपन्न परिवारलाई विद्युतीय चुल्हो र भाडा वितरण गर्नेछ ।

परियोजना सम्झौताको मितिले परीक्षण काल ६ महिना सहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको कार्यान्वयनमा प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार सुनिश्चित गरिने लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले बताए । महानगरपालिकाले प्राविधिक गुणस्तरको अनुगमन र मूल्यांकन गर्नेछ ।

तालको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको महानगर प्रमुख आचार्यले बताए ।

 ‘पहिलो चरणमा सानो तालबाट पाइलट परियोजना सुरु गरी ६ महिनाभित्र मूल्यांकन गर्ने र त्यसको प्रभावकारीताका आधारमा फेवाताल लगायत अन्य तालमा परियोजना क्रमशः विस्तार गर्दै लगिनेछ,’ उनले भने, ‘तालहरूमा देखिने फोहोर र प्रदूषणको समस्या सधैका लागि समाधान हुनेछ भने तालहरूको सौन्दयीकरणले पर्यटकहरूको आकर्षण वृद्धि गर्नेछ ।’

विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलनमार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्ने उनले सुनाए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully