गाउँपालिकाले मेमे पोखरी, क्रोम्रो डाँडा, मोलोम्चे, लिपे, र बाह्रापोखरीका क्षेत्रमा पर्यटकलाई सुविधा दिन नयाँ धर्मशाला निर्माण गरेको छ।
What you should know
लमजुङ — लमजुङको दोर्दी गाउँपालिकाले उच्च क्षेत्रमा पहिचान गरेको ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स ट्रेल’ मा ४ वटा धर्मशाला निर्माण गरेको छ । पदमार्गमा आउने पर्यटक, उच्च क्षेत्रमा रहेका तालतलैयाका तीर्थालु तथा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेलाई लक्षित गरेर गाउँपालिकाले धर्मशालाहरू निर्माण गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पदमार्गका उच्च क्षेत्रमा पर्यटकलाई बासको आवश्यकता पर्ने भएकाले धर्मशालाहरु निर्माण गरिएको बताए । धर्मशालासँगै पानीको व्यवस्थापन समेत गरेको गाउँपालिकाले जनाएको छ ।
उनका अनुसार मेमे पोखरी (४,४५६ मि.) मा निर्माण गरिएको धर्मशालामा गाउँपालिकाले १२ लाख रुपैयाँ खर्च गरेको छ । यसमा डेढ सय जना अट्छन् । मेमे पोखरीमा दोर्दी गाउँपालिका ८, खिन्चोकको तमू कल्याण युवा क्लवले पनि धर्मशाला निर्माण गरेको छ । यसमा ८० जना हाराहारी अट्छन् ।
क्रोम्रो डाँडा (४,००० मि.) को धर्मशालामा ९ लाख रुपैयाँ लगानी गरिएको छ । यसमा १ सय जना अट्छन् । मोलोम्चे (३,५०० मि.) मा ९ लाख खर्च गरी धर्मशाला निर्माण गरिएका छन् । यसमा ८० जना हाराहारी अट्छन् । लिपे (३,१०५ मि.) मा ७ लाख रुपैयाँ खर्च गरी धर्मशाला निर्माण गरिएका छन् । यसमा ४० जना हाराहारी अट्छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा नोटाचे (३,५०० मि.) मा धर्मशाला निर्माण गर्ने तयारी गरेको छ । यहाँ अहिले पुराना गोठहरु छन् । बाह्रापोखरी (३,०८० मि.) मा यसअघि विभिन्न व्यक्ति, समूहहरुले धर्मशाला निर्माण गरेका छन् । पछिल्लो समय मर्स्याङ्दी गाउँपालिका ७, उस्ता माइत र बेंसीसहर नगरपालिका १० घर भएका लिलिमा घलेको सम्झनामा उनका आमा भीमकुमारी घले र परिवारले १३ लाख ४५ हजार रुपैयाँ खर्च गरेर धर्मशाला निर्माण गरेका छन् ।
‘धर्मशाला एउटा भवनजस्तै हो, जहाँ लेकमा पुग्ने मानिसहरु बसोबास गर्छन् । धर्मको लागि धर्मशाला बनाउने एउटा परम्परा छ । हामीले पनि त्यही गर्यौं’ गाउँपालिका अध्यक्ष अधिकारीले भने । उनका अनुसार यो पदमार्गका बीचबीचमा भेडीगोठहरु हुन्छन् । भेडीगोठहरू सधैँ एकै ठाउँमा नबस्ने भएकाले धर्मशाला निर्माण गरिएको उनले बताए ।
यो पदमार्ग घुम्न लमजुङको बेसींसहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट जान आउन सकिन्छ । यस्तै, गोरखाबाट पनि जान आउन सकिन्छ । दोर्दी गाउँपालिका केन्द्र नौथर शेराबाट सुरु गर्दा पहिलो दिन जोर्ने, दोस्रो दिन लिपे, तेस्रो दिन नोटाचे, चौथो दिन म्लोम्चे, पाचौं दिन उखण्ड, छैटौं दिन मेमे पोखरी पुगेर सातौं दिन कोम्रो डाँडा, आठौं दिन बाह्रपोखरी, नवौं दिन हिलेटक्सार भएर गन्तव्यमा जान सकिन्छ । बाह्रापोखरीबाट मर्स्याङ्दी गाउँपालिका वा बेसींसहर नगरपालिका वा दोर्दी गाउँपालिका भएर गन्तव्यमा पनि जान सकिन्छ । यो पदमार्गमा पर्ने जोर्ने र हिलेटक्सारमा मानवबस्ती छ । उखण्डमा पहिल्यै धर्मशाला छ ।
यो क्षेत्रको पदमार्गमा रहेका तालतलैयाहरुमा खासगरी जनै पूर्णिमा र वैशाख पूर्णिममामा मेला लाग्छ । यहाँको मेलामा जिल्ला बाहिरका तीर्थालु आउँछन् । ‘हामीले निर्माण गरेको धर्मशालाले पर्यटकलाई सुविधा पुगेको छ’ गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले भने ।
चक्रीय अन्नपूर्ण पदमार्गको विकल्प खोजिरहेको बेला ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक ट्रेल’ पहिचान गरिएको हो । यसभित्र पनि ३–४ दिनमा पूरा गर्न सकिने ‘लिपे लेक’ सहितका अन्य पदमार्गहरू छन् । यी पदमार्गहरु उल्टो र सुल्टो अर्थात दुवैतर्फबाट यात्रा गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले बताए ।
यी पदमार्गहरुबाट पूर्व, पश्चिम र उत्तर दिशामा हिमालका मनमोहक दृश्य देख्न सकिन्छ । आँखै अगाडि माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु, गणेशलगायत हिमाल देख्न सकिन्छ । मौसम खुला भएको समय काठमाडौंको शिवपुरीसमेत देख्न सकिन्छ ।
गाउँपालिका केन्द्र नौथर शेरालाई शून्यविन्दु मान्दा काठमाडौं–पोखराबाट तनहुँको डुम्रे हुँदै लमजुङ प्रवेशपछि भोटेओडारबाट अर्चलबोट भएर दोर्दी पुग्न सकिन्छ । बेंसीसहरबाट उदिपुर हुँदै नौथर शेरा पुग्न सकिन्छ । दोर्दीको ग्रामीण भेगसम्म यातायात पुग्ने भएकाले छोटो र लामो दूरीमा पदयात्रा गर्न चाहनेका लागि यो पदमार्ग उपयुक्त रहेको गाउँपालिका अध्यक्ष अधिकारी बताउँछन् ।
