जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ पामचोकमा अपांगता भएका रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गर्यो।
What you should know
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, पामचोकका २६ वर्षीय पूर्ण रुपमा अपांगता भएका नागरिक रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
सदरमुकाम बेंसीसहरबाट ७ किलोमिटरमा पर्ने खुदीबाट करिब आधा घण्टाको कच्ची मोटरबाटो पार गरी मंगलबार साँझ ६ बजेतिर नागरिकता वितरण टोली पामचोकस्थित परियारको घरमा पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विज्ञान पौडेलले कार्यालय समयपछि नागरिकता वितरण टोली परियारको घर गएको र नागरिकता वितरण गरिएको बताए । उनका अनुसार नागरिकता पाएपछि रामचन्द्र परियार र उनकी आमाको अनुहारमा खुसी झल्कियो ।
परियारलाई नागरिकता प्रदान गर्न प्रशासकीय अधिकृत पौडेलसहित कार्यालयका नायब सुब्बा नेत्रबहादुर गुरुङ, खरिदार दिननाथ अधिकारी, वडा कार्यालयका सहायक सचिव शैलेन्द्र घिमिरे परियारको घर पुगेका थिए ।
विशेष गरी शारीरिक रुपमा अशक्त नागरिकहरुलाई राज्य सेवाको पहुँचमा ल्याउन लक्षित कार्यक्रमहरु अत्यन्तै आवश्यक रहेको प्रशासकीय अधिकृत पौडेलले बताए । ‘सामान्यतया सेवा लिन नागरिक कार्यालयमा पुग्नुपर्छ । कार्यालयमै पुग्न नसक्ने नागरिकलाई घरदैलोमै सेवा पुर्याउने सरकारको दायित्व हो । यो समावेशी र समतामूलक राज्य निर्माणतर्फको महत्वपूर्ण कदम हो,’ प्रशासकीय अधिकृत पौडेलले भने ।
खरिदार अधिकारीका अनुसार वडा कार्यालयसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सबै प्रक्रिया पूरा गरेर पूर्ण रुपमा अपांगता भएका रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेको हो ।
‘यस प्रकारका सेवामुखी कार्यक्रमले नागरिकहरूमा राज्यको उपस्थिति आभास हुनेछ । साथै सरकारप्रति अपनत्व भाव पनि सिर्जना गर्ने विश्वास लिइएको छ,’ उनले भने ।
अपांगता भएका नागरिकलाई नागरिकता वितरणको यो प्रयासले सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति गराउने दिशामा सरकार क्रियाशील रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।
उनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सकिए मात्र राज्यका सेवाहरू सच्चिकै जनमुखी र समावेशी बन्न सक्ने बताए ।
