गण्डकी प्रदेश सरकारले ०८१ फागुन २१ मा दलित विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक हाल सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलको क्रममा छ ।
What you should know
कास्की — गण्डकी प्रदेश सभामा दफावार छलफलको क्रममा रहेको दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सरोकारवालाले १३ बुँदे सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति गोरखा उपप्रमुख लीला परियारको नेतृत्वमा पोखरा आएको संयुक्त राजनीतिक दलित संघर्ष समिति गोरखाले बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचाललाई ज्ञापन पत्र बुझाएको हो ।
विधेयकको प्रस्तावना, अनुगमन समितिको नाम परिवर्तन, कार्यकारी उपाध्यक्ष नियुक्ति, सेवा–सुविधा, सदस्य नियुक्ति, सदस्य नियुक्तिको प्रक्रिया, छात्रवृत्तिलगायत व्यवस्थामा संशोधन माग गर्दै ज्ञापनपत्र बुझाइएको समिति अध्यक्ष शेरबहादुर विश्वकर्माले बताए ।
विधेयकको दफा ३ ले जातीय भेदभाव तथा छुवाछुत अनुगमन र दलित सशक्तीकरण समिति गठनको व्यवस्था गरेको छ । संघर्ष समितिले जातीय भेदभाव तथा छुवाछुतविरुद्ध दलित सशक्तीकरण विकास समिति नाम राख्न सुझाव दिएको छ । उक्त समितिको अध्यक्ष मन्त्री हुने प्रावधान राखिएको छ । दलित हक–अधिकारको क्षेत्रमा काम गरेको व्यक्तिलाई सम्पूर्ण समुदायको प्रतिनिधि हुने गरी कार्यकारी उपाध्यक्षको व्यवस्था गर्न संघर्ष समितिको सुझाव छ ।
विधेयकले दलित समुदायको प्रतिनिधित्व हुने गरी विज्ञ, अधिकारकर्मी गरेर ६ जना सदस्य अध्यक्षबाट मनोनीत गर्न सकिने व्यवस्था गरेको छ । संघर्ष समितिले समिति अध्यक्षबाट नभई मन्त्रिपरिषद्बाटै नियुक्त हुनुपर्ने सुझाव दिएको छ । साथै मनोनीत सदस्यको पदावधि ४ वर्ष बनाउन सुझाव दिइएको छ । विधेयकले पदेनबाहेक मनोनीत सदस्यको पदावधि ३ वर्ष हुने व्यवस्था गरेको छ ।
संघर्ष समितिले सदस्य सचिव सरकारी कर्मचारी नभई दलित समुदायको अधिकारको क्षेत्रमा योगदान गरेको व्यक्ति बनाउन सुझाव दिएको छ । विधेयकमा मन्त्रालयको सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुखलाई सदस्य सचिव बनाउने विषय उल्लेख छ । समितिको बैठक वर्षमा कम्तीमा दुईपटक बस्ने व्यवस्था विधेयकमा गर्नुपर्ने अर्को सुझाव छ । विधेयकको दफा ५ ले समितिको बैठक आवश्यकताअनुसार बस्ने व्यवस्था गरेको छ ।
समितिको काममा सांस्कृतिक विषयको अध्ययन गर्नुपर्ने विषय समेट्न सुझाव दिइएको छ । विधेयकले समितिले दलित समुदायको आर्थिक, राजनीतिक तथा सामाजिक अवस्थाको अध्ययन गरेर प्रतिवेदन पेस गनुपर्ने कामको कल्पना गरेको छ ।
विधेयकको दफा ९ मा प्रदेश सरकारले विपन्न तथा जेहेनदार दलित विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययन गर्न सहुलियतपूर्ण छात्रवृत्तिको व्यवस्था गर्न सक्ने उल्लेख छ । संघर्ष समितिले सहुलियतपूर्ण छात्रवृत्तिलाई ‘गर्न सक्नेछ’ भन्ने वाक्यांश राखेर ऐच्छिक नबनाई ‘गर्नुपर्नेछ’ भन्ने शब्द राखेर अनिवार्य गर्न माग गरेको छ ।
प्रदेश सरकारले ०८१ फागुन २१ मा दलित विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक हाल सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलको क्रममा छ । संघर्ष समिति र अन्य सरोकारवालाले दिएको आवश्यक सुझावलाई विधेयकमा समावेश गरेर अन्तिम प्रतिवेदन तयार गरिने समिति सभापति दमयन्ती रुचालले बताइन् ।
