प्रहरी र स्थानीयको सहयोगमा एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।
बागलुङ — अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सडक अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरोले बागलुङको काठेखोला गाउँपालिका-६ को ताराखसे भन्ने स्थानमा रुखहरु ढलेका छन् ।
यो सडक रोकिँदा पूर्वपश्चिम गर्ने सवारीसाधनदेखि बागलुङ सदरमुकामदेखि पश्चिममा ६ वटा स्थानीय तहका बासिन्दालाई आउजाउमा असर परेको छ । पहिरो पन्छाउने कामका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रहरी चौकी दोबिल्लाका प्रहरी सहायक निरीक्षक खिमबहादुर कार्की नेतृत्वको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी बसन्त रेग्मीले बताए । प्रहरी र स्थानीय मिलेर एकतर्फी सडक खुलाउने प्रयास भएको हो । सडक पूरै सफाइ गर्न भने मंगलबार दिनभर लाग्ने बताइएको छ ।
