गाँजाखेतीलाई व्यवस्थित गरेर लैजानुपर्छ : मुख्यमन्त्री पाण्डे

उनले प्रदेश सरकारले घरेलु रक्सीलाई पनि ब्रान्डिङ गर्ने दिशामा काम गरिरहेको जानकारी दिए ।

श्रावण १७, २०८२

प्रतीक्षा काफ्ले

Ganja cultivation should be managed: Chief Minister Pandey

What you should know

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा (भाङ) खेतीलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

पोखरामा आयोजित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बागमतीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाङ खेतीलाई बहुपयोगी बालीका रूपमा अघि बढाउन जोड दिए । 'बागलुङमा भाङको उत्पादन बढी हुन्छ, तर अब प्रदेशभर नै यसको व्यवस्थित खेती गर्न सकिन्छ,' उनले भने । उनका अनुसार भाङबाट औषधि उत्पादन गरेर विदेशमा निर्यात गर्न सकिने सम्भावना छ । 'गाँजा दुरुपयोगको सम्भावना भएकाले कडा कानुनी व्यवस्थासहित अघि बढ्नुपर्छ । अहिले कानुन बनाउने प्रक्रिया रोकिएको छ, तर अब अवसरलाई सदुपयोग गर्नुपर्छ,' मुख्यमन्त्री पाण्डेले भने ।

उनले प्रदेश सरकारले घरेलु रक्सीलाई पनि ब्रान्डिङ गर्ने दिशामा काम गरिरहेको जानकारी दिए ।

उनले गण्डकी प्रदेशमा छिट्टै लगानी सम्मेलन आयोजना गरिने जनाउँदै विदेशमा रहेका नेपाली उद्यमीहरूलाई राइड सेयरिङलगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि प्रदेशस्तरमा आकर्षक गन्तव्य विकास गर्नुपर्नेमा जोड दिए । 'नेपालमा धेरै सम्भावना छन्, यिनको व्यवस्थापन र प्रवर्द्धनका लागि सरकारको सक्रिय भूमिका आवश्यक छ,' उनले भने ।

सम्मेलनले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति गठन गरेको छ । पोखराको लेकसाइडमा रहेको वरपिपल रिसोर्टका संचालक जितु नेपालको अध्यक्षतामा १९ सदस्य रहने गरी समिति बनाएको हो । नेतृत्व समाल्दै अध्यक्ष गुरूङले आफ्नो कार्यकाल पहिलो भएकाले पनि सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी, समितिका वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिव चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रूद्र रेग्मी चयन भएमा छन् । 

टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । आचार्य यसअघि संयाेजक थिए ।

प्रतीक्षा

Link copied successfully