घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो करिब दुई बजे आगलागी भएको छ ।
तनहुँ — घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो करिब दुई बजे आगलागी भएको छ ।
विद्युत् सट भएका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको बताइएको छ ।
शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठका अनुसार आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर र दुईवटा पंखा जलेर नष्ट भएका छन् । ‘त्यति बेला खाजा खाने समय भएकाले हामीहरु क्यान्टिनमा थियौं’, उनले भने, ‘भण्डार कोठाको झ्यालबाट धुँवा देखेपछि आगलागी भएको थाहा पायौं ।’
घटनापछि तुरुन्तै शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूले 'फायर एक्सटिङ्गिविसर'को सहायताले आगो नियन्त्रणमा लिएका थिए । समयमै निभाउन सकिएकाले आगलागीबाट थप क्षति हुन नपाएको प्रमुख श्रेष्ठले बताए ।
