कोदो कृषकलाई सम्म्मान

पोखरामा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा धेरै कोदो उत्पादन गर्ने चार जना कृषकलाई नगर प्रमुख धनराज आचार्यले सम्मान गरे ।

श्रावण १६, २०८२

अनुप पौडेल

Kudos to millet farmers

कास्की — प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ को अवसरमा पोखरा महानगरपालिकाले चार जना कृषकलाई सम्मान गरेको छ ।

महानगरपालिकाअन्तर्गतको आर्थिक विकास महाशाखाको आयोजनामा शुक्रबार कोदोजन्य बालीका परिकारको प्रदर्शनी तथा कृषक सम्मान गरिएको हो ।

पोखरामा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा धेरै कोदो उत्पादन गर्ने चार जना कृषकलाई नगर प्रमुख धनराज आचार्यले सम्मान गरे । करिब ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-१६ की बबिता गुरुङ, करिब ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२८ की अम्बिका भण्डारी, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२३ का सचेन गुरुङ र १२ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२१ का कर्णबहादुर थापालाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको हो । 

पोखरा महानगरपालिका रैथाने बालीको संरक्षण तथा विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले उत्पादनमा जोड दिए । रैथाने बाली उपेक्षित बन्दै लोपोन्मुख अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

महानगरपालिका पछिल्लो समय दूध, दही, अण्डालगायत केही तरकारीमा आत्मनिर्भर भइसकेको उनले सुनाए ।

परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवर्द्धन, कृषकको आम्दानी वृद्धि, कोदो खेतीप्रति कृषकको आकर्षण वृद्धि, स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनकाअनुसार यसको प्रवर्द्धन तथा कृषकको आकर्षण बढाउन महानगरपालिकाले न्यूनतम समर्थन मूल्यसमेत उपलब्ध गराउँदै आएको छ ।

अनुप

Link copied successfully