पर्यटक बोलाउन पोखरा पुग्यो मर्स्याङ्दी गाउँपालिका

मर्स्याङ्दीको पर्यटन सम्भावनालाई उजागर गर्दै पोखरामा भएको अन्तरक्रियाले दीर्घकालीन योजना र सहकार्यको खाँचो औंल्यायो।

श्रावण १५, २०८२

आश गुरुङ

Pokhara reached Marsyangdi rural municipality to invite tourists

What you should know

लमजुङ — पोखरेली पर्यटक डाक्न लमजुङको मर्स्याङ्दी गाउँपालिका प्रदेश राजधानी पोखरा पुगेको छ । पोखरा पुगेर मर्स्याङ्दीले पोखरेली पर्यटन व्यावसायीसँग अन्तरक्रिया छलफल गरेको छ ।

मर्स्याङ्दीले बिहीबार पोखरा पुगेर व्यवसायीसँग पर्यटन क्षेत्रको सम्भावना, विकास, रणनीति र प्रवर्द्धनका उपायबारे जानकारी गराउँदै अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सहभागीले लमजुङको मर्स्याङ्दी गाउँपालिका पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएको र पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न दीर्घकालीन योजना, पूर्वाधार विकास, स्थानीयस्तरमा जागरण र अन्तरसंस्थागत सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

मर्स्याङ्दी गाउँपालिकाको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, हिमाली सौन्दर्य र साहसिक पर्यटनका सम्भावनाहरूलाई व्यवस्थित ढंगले विकास गर्न सके यस क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्नेमा सहभागीले विचार व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका-६ स्थित होटल इलिगेन्टमा आयोजित अन्तरक्रिया तथा छलफलमा पर्यटन प्रवर्द्धनका लागि रणनीतिक साझेदारी, प्रचारप्रसार तथा आगामी योजनाको खाका तय गर्न महत्वपूर्ण छलफल भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले पोखराबाट लमजुङ आउजाउ गर्न स्थलमार्गको सहजता बताउँदै पर्यटकलाई लमजुङ र लमजुङको पनि मर्स्याङ्दी गाउँपालिकामा आउने वातावरण मिलाइदिन पोखराका पर्यटन व्यवसायीलाई आग्रह गरे ।

उनका अनुसार गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण गरिरहेको, मार्गचित्र तयार पारेको र प्रचार–प्रसार अभिवृद्धि गरी निजी क्षेत्रसंग सहकार्य बढाउने योजनासमेत अघि सारेको छ ।

Pokhara reached Marsyangdi rural municipality to invite tourists

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य, नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दहाल, गुरुङ पर्यटन व्यवसायी संघ (जीटिन) गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङलगायतले मर्स्याङ्दीको पर्यटन प्रवर्द्धनमा पोखरेली पर्यटन व्यवसायीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पछिल्लो समय आन्तरिक तथा बाहृय पर्यटकहरु आउने क्रम बढेको छ । यहाँको घनपोखरा, सिउरुङ, छापा–मिप्रा, रक गार्डेन, भुष्मे, ढगैंलगायत गाउँमा पर्यटकीय होमस्टे सञ्चालनमा छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा रहेको हामखोला झरना, स्याँगे झरना, बुङ छहरा, हर्सिङ डाँडालगायत पर्यटकीय गन्तव्यहरु छन् ।

गुरुङ पर्यटन व्यवसायी संघ (जीटिन) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ गुरुङले कास्की, लमजुङ र मनाङको उच्च क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न गुरुङ सम्पदा मार्ग पहिचान भएको र यसबाट मर्स्याङ्दी गाउँपालिकाले पनि लाभ लिन सक्ने बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully