लमजुङमा श्रमिकको ज्यालादर निर्धारण

दक्ष र अर्धदक्ष कामदारको दैनिक ज्याला १० देखि १५ रुपैयाँ बढाइएको छ ।

श्रावण १५, २०८२

आश गुरुङ

Determination of wage rate of labor in Lamjung

What you should know

लमजुङ — लमजुङमा यस वर्ष दिनभरि श्रम गरेर गुजारा चलाउँदै आएका कामदारको ज्याला वृद्धि भएको छ । सार्वजनिक खरिद नियमावली र जिल्ला दररेट निर्धारण समितिको निर्णय अनुसार दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय रुपैयाँ स्वीकृत गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

गत वर्ष र अघिल्लो आर्थिक वर्ष दक्ष डकर्मी, सिकर्मी, नकर्मी, बज्रकर्मी, चित्रकारी, इलेक्ट्रिसियन, मेकानिक्स, प्लम्बरको दैनिक ज्याला १ हजार १ सय ९० रुपैयाँ रहेकामा चालु आर्थिक वर्षका लागि १० रुपैयाँ बढेको छ । अर्धदक्ष कामदारको प्रतिदिन ९ सय ३० रुपैयाँबाट बढाएर ९ सय ४० रुपैयाँ कायम गरिएको छ । सुरुङभित्र काम गर्ने दक्ष कामदारको दैनिक ज्याला १ हजार २ सय ४२ बाट बढाएर १ हजार २ सय ५० रुपैयाँ पुर्‍याइएको छ । अर्धदक्षको प्रतिदिन ९ सय ८९ रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्‍याइएको छ । हेभी इक्युपमेन्ट ड्राइभरको १ हजार ३ सय ५ बाट १५ रुपैयाँ बढाएर १ हजार ३ सय २० कायम गरिएको छ ।

अदक्ष कामदार ज्यामीको ८ सय ६३ बाट बढाएर ८ सय ७०, सुरुङभित्र काम गर्ने ज्यामीको ९ सय २६ बाट १४ रुपैयाँ बढाएर ९ सय ४० रुपैयाँ बनाइएको छ । हेभी इक्युपमेन्ट, सर्भे र इलेक्ट्रिसियनका हेल्परहरुको ६ सय ६८ बाट बढाएर ६ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, ४० किलो भारी बोकेर ४ कोष टाढा पुर्‍याउने भरियाको दैनिक ज्याला ७ सय ९६ रुपैयाँबाट ९ रुपैयाँ बढाएर ८ सय ५ रुपैयाँ कामय गरिएको छ । कृषि मजदुरको ७ सय ३१ बाट बढाएर ७ सय ४० रुपैयाँ पुर्‍याइएको छ । चौकीदार, पियन, पाले, मेसेन्जर र ढाल्पाको प्रतिदिन ७ सय ५ बाट ७ सय १० रुपैयाँ पुर्‍याइएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार उक्त दररेट प्रतिदिन ८ घण्टाको हिसाबले तय गरिएको हो । रात्रीकालीन कामको लागि खाइपाइ आएकोबाट २५ प्रतिशत बढाउन सकिने उनले बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल निर्माण व्यवसायी संघ, लमजुङ उद्योग बाणिज्य संघ, पूर्वाधार कार्यालयका अधिकारीलगायतको बैठकले ज्यालादर निर्धारण गरेको हो ।

खाद्यान्न तथा उपभोव्य वस्तु तथा सेवा, स्वास्थ्य, शिक्षा, यातायात सेवाको मुल्य वर्षेनी धेरैमात्रामा बढ्दै गएको र श्रमिकको ज्यालामा थोरैमात्रामा बढेको श्रमिक मजदुरहरुको गुनासो छ । उनीहरुले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन वा श्रमिकको ज्याला अझै बढाउन माग गर्दै आएका छन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully