स्थानीय अन्नको संरक्षण र प्रवर्द्धनका लागि विद्यालयमा दिइने दिवा खाजामा हप्ताको दुई दिन कोदो अनिवार्य गर्नुपर्ने छ ।
What you should know
स्याङ्जा — सरकारले सरकारी विद्यालयमा दिवा खाजालाई प्रोत्साहन गर्दै आएको छ । संघीय सरकारले दिएको रकम न्यून भए पनि स्थानीय सरकारले दैनिक आवश्यकताअनुसार दिवा खाजाका लागि बजेट विनियोजन गर्दै आएका छन् । तर, विद्यालयले खाजामा मनपरी गर्ने, जंकफुडलाई प्रयोग गर्ने हुँदा स्थानीय तहले खाजामा निगरानी गर्न थालेको छ ।
विद्यार्थीको स्वास्थ्य र स्थानीय उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाले दिवा खाजामा ‘कोदो’ अनिवार्य गरेको छ । दिवा खाजामा हप्ताको दुई दिन कोदोको परिवार अनिवार्य हुनेपर्ने गरी पालिकाले निर्णय गरेको हो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले साउन १६ गते ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाउने तयारी गरेको बताए । सोही दिनदेखि पालिका मातहतका विद्यालयमा कोदोबाट बनेका परिकार अनिवार्य हुने उनले बताए ।
‘यो पालिकाको ऐतिहासिक कदम हो,’ अध्यक्ष सुवेदीले भने, ‘यो निर्णयसँगै अब विद्यालयका दिवा खाजामा कोदोको ढिँडो, मःमः, तावा रोटी, पुवा, सेलरोटी, चिउरा, हलुवा र सूपजस्ता स्वादिला तथा पौष्टिक परिकार समावेश हुनेछन् । लोपोन्मुख स्थानीय बालीको संरक्षण गर्दै विद्यार्थीको पोषण अवस्था सुधारमासमेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।’ यो अभियान केवल विद्यालयमा मात्र सीमित नहुने उनको भनाए छ ।
विद्यालयदेखि सभा–सेमिनारसम्म अब कोदोका परिकारलाई प्राथमिकता दिने पालिकाले जनाएको छ । वडा कार्यालय, चमेना गृहदेखि गाउँपालिकाले आयोजना गर्ने हरेक सार्वजनिक कार्यक्रममा कोदोका परिकारलाई अनिवार्य बनाउने नीति लिएको अध्यक्ष सुवेदीले बताएका छन् । गाउँपालिकाले कोदोको पोषण मूल्य, खाद्य सुरक्षामा यसको योगदान, कृषकको आयआर्जन वृद्धि, र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने जस्ता बहुआयामिक लाभलाई केन्द्रमा राखेर यो नीति अघि सारेको हो ।
कोदो दिवसमा विशेष कार्यक्रम
यो अभियानलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले साउन १६ गते ‘कोदो दिवस’को अवसरमा फेदीखोला–१ रामकोटमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त दिन कोदो रोपाइँ, कोदोका विभिन्न परिकारको प्रदर्शनी तथा प्रयोगात्मक कार्यक्रममार्फत समुदायस्तरमा चेतना फैलाइने अध्यक्ष सुवेदीले जानकारी दिए ।
पालिकाले विद्यालयस्तरमा सचेतना फैलाउन २०७७ सालदेखि नै कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ समावेश गरिसकेको छ ।
फेदीखोला गाउँपालिकाको यो कदम कोदोको प्रवद्र्धन मात्र नभई स्थानीय पहिचान, स्वस्थ जीवनशैली र आर्थिक आत्मनिर्भरताको दिशामा एक शक्तिशाली सन्देश हो । यसले भविष्यमा अन्य स्थानीय तहका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गर्ने अपेक्षा पालिकाले लिएको छ ।
