पहिरोले बन्द बेंसीसहर-चामे सडक खुल्यो

श्रावण १३, २०८२

आश गुरुङ

The Bensihar-Chame road, which was closed due to landslides, was opened

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतको बीचस्थित खोल्सामा पहिरो खस्दा सोमबार रातीदेखि बन्द सडक मंगलबार दिउँसोदेखि खुलेको छ । हिमाली जिल्ला मनाङ आउजाउ हुने एकमात्र बेंसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध हुँदा सवारी साधन र यात्रु आवतजावत हुन सकेको थिएन ।

सोमबार राति माथिबाट ठूला–ठूला ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएकोमा सडक कार्यालयसँगको समन्वयमा मंगलबार दिउँसो सडक खुलाउन सफल भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले बताए ।

मर्स्याङ्दी गाउँपालिका–४, जगत निवासी खुसीराम गुरुङले मंगलबार दिउँसो १ बजेतिरबाट सडक खुले पनि पहिरो आउने सम्भावना अझै रहेको बताए ।

पहिरोका कारण सडक सोमबार राति सवा ८ बजेबाट अवरुद्ध भएको थियो । उनका अनुसार पहिरोले ३३ केभीको विद्युत्‌को पोल, ११ केभीको पोल र इन्टरनेटका पोलसमेत ढालेको छ । ढलेका विद्युत्‌को पोल तथा तारहरूको मर्मत थालिएको उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully