काठमाडौँ — लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतको बीचस्थित खोल्सामा पहिरो खस्दा बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । प्रहरी र स्थानीयका अनुसार सोमबार राति ठूला–ठूला ढुंगासहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा सवारीसाधनसहित मानिसको आवतजावत रोकिएको मर्स्याङ्दी गाउँपालिका–४, जगत निवासी खुसीराम गुरुङले जानकारी दिए । उनका अनुसार पहिरो खस्नासाथ दुवैतर्फ सवारी साधन र मानिसहरु आवतजावत हुन सकेका छैनन् ।
पहिरोले ३३ केभीको विद्युतको पोल, ११ केभीको पोल र इन्टरनेटका पोलहरु समेत ढलेको र तारहरु चुँडाएको उनले बताए । पोल र तारमा क्षति पुग्दा उक्त क्षेत्र र माथिल्लो क्षेत्रमा विद्युत र इन्टरनेट समेत अवरुद्ध रहेको उनले बताए ।
