सरकारी कार्यालयबाट निस्कने ढल सोझै खेलमैदानमा 

ढल व्यवस्थापनमा सरकारी कार्यालयको लापरबाहीले खेलमैदान हिलाम्मे

श्रावण १२, २०८२

सुमनजंग थापा

The sewage coming out of the government office directly into the playground

What you should know

पर्वत — कुश्मा बजारमा रहेको फराकिलो बडगाउँचौर २५ वर्षअघि सशस्त्र प्रहरीले आफू मातहत लियो । त्यसपछि खेलाडीहरू मैदान अभावले बिचल्लीमा परे । खेलकुद गतिविधि शून्यजस्तै भयो ।

बडगाउँचौर छेवैमा विभिन्न सरकारी कार्यालयहरूका नाममा खाली जमिन थिए । त्यही जमिनलाई खारेर खेलकुद मैदान बनाइयो । खेल गतिविधिहरू पनि बढ्न थाले । खेलाडी र खेलप्रेमी कुश्मेलीहरु दङ्ग थिए । 

तर, बल्लतल्ल मिलेको खेलमैदान पनि सरकारी कार्यालयहरूबाट निस्कने पानीको ढलका कारण जलमग्न भएपछि खेलाडीहरू निराश भएका छन् । स्थानीय तहका जनप्रतिनिधिदेखि सम्बन्धित कार्यालयमा पुगेरै आफ्नो कार्यालयको ढल व्यवस्थापन गर्न अनुरोध गरे पनि अटेर गरेको उनीहरू बताउँछन् । कुश्मा नगरपालिका–५ स्थित बडगाउँमा रहेको यो कुश्माको एउटा मात्र साझा खेलमैदान हो । विद्यालय स्तरका बालबालिका हरेक दिन बिहान–साँझ जमघट हुने र खेलकुदका गतिविधिमा सहभागिता जनाउने गर्छन् । अहिले चौरमा खुल्ला व्यायामशाला पनि निर्माण गरिएको छ ।  

‘दर्जन बढी सरकारी कार्यालय छन् । उनीहरूले आफ्नो कार्यालय अघि सामान्य नाली सफा नगरिदिँदा बर्खाको ढलजति खेलमैदानमा आएर थुप्रिन्छ,’ कुश्मा स्पोर्टस् क्लबका उपाध्यक्ष अनिश श्रेष्ठले भने, ‘प्रदेश अस्पताल पर्वत, पूर्वाधार विकास र अन्य कार्यालयबाट निस्कने ढल र कुश्मा नगरपालिकाको बन्दै गरेको आवास भवन निर्माणका सामग्रीहरू जथाभाबी राख्दा नाली बुझिएर समस्या आएको हो ।’

करिब १३ रोपनीमा फैलिएको प्रदेश अस्पतालबाट निस्कने बर्खाको ढल आफूहरूले व्यवस्थापन गरेको भए पनि अस्पताल अघिको सडक नबन्दा समस्या आएको अस्पतालको भनाइ छ । ‘अस्पतालको मात्र होइन यहाँ वरिपरि रहेका सबै सरकारी कार्यालयहरूको ढल खेल मैदानमा पुग्छ,’ अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरीले भने, ‘बर्खाको भेललाई अस्पतालको गेटसम्म बग्ने गरी व्यवस्थापन गर्‍यौँ । अन्य कार्यालयहरूले आफ्नो अघिको नाली निर्माणमा ध्यान दिएका छैनन् । जसका कारण सानै पानी आउने बित्तिकै खेलमैदान हिलाम्मे बन्छ ।’ उनी एक महिना अघि अस्पतालको जिम्मेवारीबाट अलग भएका हुन् । 

सरकारी कार्यालयको लापरबाहीले खेलमैदानमा क्षति पुगेको कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष रामहरि शर्माले बताए । ‘हामी जनप्रतिनिधिले खेल र खेलाडीलाई गहना मानेर हिँड्ने अनि विकासे अड्डाका कार्यालयहरूले मनोमानी गर्ने ?’ उनले भने, ‘खानेपानी र पूर्वाधार कार्यालय मेन जिम्मेवार हुन् । पूर्वाधार कार्यालयको पछाडिको पर्खाल भत्केको कति भइसक्यो । त्यो सफा गर्न पर्दैन । त्यहाँको पानी सबै मैदानमा गएको छ ।’ 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्ध पुनसमक्ष खेलाडीहरूले खेलमैदानका विषयमा अवगत गराएका थिए । तर उनी पनि केही गर्न सक्ने अवस्थामा छैनन् । भन्छन्, 'खेलमैदान संरक्षणका लागि बजेट माग गरेको हो । माथिबाट बजेटै आएन ।’

जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हर्कमान गुरुङले आफू अध्यक्ष हुँदा पनि मैदानलाई पटक पटक बजेट माग गरेको तर कहिँकतैबाट सुनुवाइ नभएको बताए । 

नेपालकै पहिलो भनिएको लामो र अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा पनि क्षति पुग्ने गरेको छ । खेलमैदानको छेवैमै पुलको जग राखिएको छ । बर्खामा निरन्तर पानी आउने र त्यसैमा भल मिसिएर बग्दा पुलमा जोखिम बढेको स्थानीयवासी बताउँछन् । समयमै ढलको उचित व्यवस्थापन गर्न नसके खेलमैदान सँगै अग्लो झोलुङ्गे पुलको आयु धेरै वर्षको नरहने उनीहरूको बुझाइ छ । 

खेलमैदानमा फुटबल, भलिबल, ह्यान्डबल, क्रिकेट, मार्सल आर्ट लगायतका खेल हुँदै आएका छन् । अहिले खेलमैदान हिलाम्मे हुँदा खेलाडीहरू मैदान छिर्न पाएका छैनन् । ‘खेलकुदका लागि स्वास्थ्य भनिन्छ तर खेलमैदान आफै बिमारी परेको छ,’ कराँते महासंघका अध्यक्ष राम श्रेष्ठले भने ।

खेलमैदान आसपासमा प्रदेश अस्पताल पर्वत, र पूर्वाधार विकास कार्यालय बाहेक रेडक्रस, सशस्त्र प्रहरी बल, सीप विकास, अनुसन्धान आयोग, जिल्ला अदालत, हुलाक, कृषि ज्ञान केन्द्र, खानेपानी, शिक्षा, नापी, मालपोत, सरकारी वकिलको कार्यालय, पशु विज्ञ केन्द्र, जिल्ला स्वास्थ्य, नेपाल पत्रकार महासंघ लगायतका कार्यालय अवस्थित छन् । यी सबै कार्यालयबाट बग्ने बर्खाको ढल सोझै खेलमैदानमा पुग्ने गर्छ ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully