तनहुँको विमलनगरमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

श्रावण १२, २०८२

सम्झना रसाइली

The Prithviraj highway was blocked due to a landslide in Bimal Nagar of Tanahun

तनहुँ — पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा सोमबार साँझ करिब साढे ८ बजेको समयमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

विमलनगरको चुनपहरास्थित सडकभन्दा माथिबाट सुख्खा पहिरो खस्दा डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको र पहिरो हटाउने कार्य अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरो हटाएर राजमार्ग सुरु गराउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार सडक खण्डमा अचानक माथिबाट सुख्खा पहिरो खस्दा दुवैतर्फका बाटो पूर्ण रुपमा अवरोध भएकोले उक्त स्थानमा प्रहरी चौकी डुम्रेबाट प्रहरी नायव निरिक्षक विजयनाथ यादवको कमान्डमा ट्राफिकसहित १३ जनाको टोली खटाएर बाटो खेलाउने कार्य अगाडि बढाइएको छ ।

यस्तै, तनहुँ प्रहरीले गोरखाको च्याङ्ली हुँदै नयाँपुल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully