चीन भ्रमण सकेर फर्किए गण्डकीका मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङसँग कोरला नाका सञ्चालन र दुई देशबीच व्यापार, पर्यटन प्रर्वद्धनमा सहकार्यको प्रस्ताव गरे।

श्रावण १२, २०८२

अनुप पौडेल

Gandaki Chief Minister Pandey returned after visiting China

What you should know

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको टोली एक साता लामो चीन भ्रमण सकेर पोखरा फर्किएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी भएर टोली सोमबार पोखरा फर्किएको हो । 

भ्रमणका क्रममा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग भेट भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए । भेटमा मुख्यमन्त्री पाण्डेले तिब्बतसँग जोडिएको मुस्ताङको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीच व्यापार र पर्यटन प्रर्वद्धनमा सहकार्यको प्रस्ताव गरे । 

तिब्बती नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रामा सहजीकरण गर्ने, चिनियाँ सहरबाट काठमाडौं, पोखरा सिधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रर्वद्धनका क्षेत्रमा सम्बन्ध कायम र विस्तार गर्ने, नेपाल र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा जाने पर्यटकको भिसा र प्रवेश पास उपलब्धतामा सहजीकरण र सहकार्य गर्ने–गराउने विषयमा छलफल भयो । 

सचिव वाङले कोरला नाकालाई व्यवस्थित गर्ने विषय सहकार्यको राम्रो अवसर हुन सक्ने बताए । कोरला नाका नियमित सञ्चालन र व्यवस्थापनमा तिब्बत सरकार पनि सकारात्मक रहेको उनले बताए । दुई देशबीच पर्यटन, कृषि, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्न तिब्बत सरकार सकारात्मक रहेको उनको भनाइ थियो । उनले २०२३ नोभेम्बरमा गण्डकी प्रदेशको भ्रमण गरेको स्मरण गरे । 

भ्रमणकै क्रममा मुख्यमन्त्री पाण्डे र चिनियाँ कम्युनिस्ट पार्टीका लिन्जी नगर पार्टी सचिव आओ लिउच्वान र लिन्जी जनसरकार प्रमुख बातासँग भेट गरेका थिए । भ्रमण टोलीमा मुख्यमन्त्रीकी श्रीमती, कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटा संलग्न थिए । यो टोली साउन ६ मा चीन गएको थियो । 

अनुप

Link copied successfully