पुलले दैनिक आवागमन, व्यापार र कृषि उत्पादनको ढुवानीलाई सहज बनाउने
What you should know
कास्की — सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्डको पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे ।
यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो । ०८२ साउन ६ भित्र निर्माण सक्ने गरी १ करोड ८६ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा ०८२ असार २३ मा सम्पन्न भएको हो । निर्माण व्यवसायीले १ करोड ७५ लाख ६९ हजार रुपैयाँ अन्तिम भुक्तानी पाएको कार्यालय प्रमुख दयाराम अधिकारीले जानकारी दिए । उनकाअनुसार ८.४ मिटर चौडाइको पुलमा ६ मिटरमा गाडी गुड्न मिल्ने र दुवैतर्फ गरी २.४ मिटर फुटपाथ निर्माण गरिएको छ ।
उद्घाटनपछि बोल्दै भौतिकमन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताए । दैनिक आवतजावत, व्यापार व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलाप अझ सहज हुने उनले विश्वास व्यक्त गरे । ‘गण्डकी प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउने, कार्यान्वयन गर्ने र जनतामाझ प्रत्यक्ष लाभ पुग्ने गरी विकासको गति अगाडि बढाइरहेको छ । यही धारणा अनुरूप पौवै खोला सडक पुल पनि जनताको सहज यात्रा, सुरक्षित आवागमन र आर्थिक गतिविधिको सञ्जाल विस्तारमा सहयोगी हुनेछ,’ उनले भने ।
सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका एमाले सांसद सुधीरकुमार पौडेलले नकारात्मक टिप्पणी गरिए पनि प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको बताए । ‘प्रदेश संघीयताको कडी हो । प्रदेशप्रति जति नकारात्मक कुरा फैलाइएको छ त्योभन्दा धेरै प्रदेश सरकारले काम गरेको छ,’ उनले भने । बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकलाई स्याङ्जा–पोखरा–तनहुँलाई जोड्न मात्र नभइ आर्थिक उपार्जनमा प्रयोग गर्न आवश्यक रहेको उनले बताए । आर्थिक कोरिडोर र स्याङ्जाको लाइफलाइनको रूपमा विकास गर्न सके राम्रो हुने उनको भनाइ थियो । उनले यो सडक चाक्ला पार्न आफूले सक्दो पहल गर्ने बताए ।
राप्रपा दल नेता पञ्चराम गुरुङले आवश्यकता धेरै भएपनि महत्त्वपूर्ण पूर्वाधार कुन हो भन्ने पहिचान गर्न आवश्यक रहेको बताए । विकास तत्कालै हुन नसक्ने भएकाले धैर्य हुनुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशकी पूर्व अर्थमन्त्री एवं एमाले सांसद सीताकुमारी सुन्दासले पूर्वाधार निर्माणमा छोटो समयमै धेरै परिवर्तन भएको बताइन् । विगतमा स्याङ्जास्थित घरबाट हिँडेर पोखरा ओहोरदोहोर गरेको उनले स्मरण गरिन् । ‘ठूलाडिहीबाट कि बाड्खोला निस्केर जानपर्थ्यो कि यही बाटो हिँडेर पोखरा जानपर्थ्यो । हामी बिहानै आँखा मिच्दै पोखरा जान्थ्यौं,’ उनले भनिन्, ‘आज त बाटो बनिसक्यो । धेरै परिवर्तन भएको छ । कामै नभएको होइन नि ।’ विगतमा तत्कालीन आवश्यकता र स्रोत साधनको क्षमताअनुसार पूर्वाधार निर्माण भएकाले अहिले साँघुरो र अपर्याप्त भएको उनले बताइन् । पुराना पूर्वाधारलाई समयानुकूल विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो । ‘हिजो जुन आवश्यकता थियो, जति स्रोत थियो त्यही अनुसार विकास निर्माणका काम भयो । यहाँ बाटो हिजो सानो बन्यो । अब समयानुकूल विकास गर्नुपर्नेछ । यो पनि समयसँगै परिवर्तन हुन्छ,’ उनले भनिन् ।
कांग्रेसबाट निर्वाचित प्रदेश सांसद कल्पना तिवारीले सडकलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको बताइन् । पोखराबाट नजिकै रहेकाले होमस्टे सञ्चालन गर्न सके राम्रो हुने विकल्प उनले स्थानीयलाई सुझाइन् । विकासको पूर्णताको विन्दु नहुने भन्दै उनले सडक फराकिलो पार्ने, पुल निर्माण निरन्तर चलिरहने बताइन् ।
