कास्की — कास्कीको घट्टेखोला–धम्पुस–खानीगाउँ सडक ट्र्याक खुलेको २१ वर्षपछि कालोपत्रे हुने भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्रबार शिलान्यास गरे ।
मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको सडक निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । सडक निर्माणका लागि एमएस इकेके–एमसीएसपीएल–बीबीआर जेभी र आयोजनाबीच ०८१ फागुन २१ मा ३० करोड १८ लाख रुपैयाँमा सम्झौता भएको थियो । माछापुच्छ्रे गाउँपालिका–७ मा पर्ने यस सडकको लम्बाइ १३.३ किलोमिटर छ । यसमध्ये पहिलो ७ किलोमिटरसम्म अस्फाल्ट र बाँकी डीबीएसटी प्रविधिबाट कालोपत्रे गरिने आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । यो सडकको ट्र्याक ०६१ सालमा खुलेको थियो ।
शिलान्यासपछि बोल्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए । ‘समयमै गुणस्तरीय ढंगले कार्य सम्पन्न गर्न, काम निरन्तर अघि बढाउन, निर्माण स्थलको नियमित अनुगमन गरेर समयमै काम सम्पन्न गर्ने वातावरण तयार गर्न मन्त्रालय मातहतका निकाय, निर्माण व्यवसायी र स्थानीय तहलाई विशेष आग्रह गर्दछु,’ उनले भने । सडक कालोपत्रे भएपछि माछापुच्छ्रे गाउँपालिकाभित्र सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा विशेष योगदान पुग्ने मन्त्री केसीले बताए ।
