भोटिङ कार्ड जसले धेरै कटाउँछ उ नै विजेता हुने, विभिन्न पुरस्कारहरु समेत जित्ने भनि झुटो प्रलोभन देखाएको पाइएको छ ।
What you should know
काठमाडौँ — ‘गोरखा डान्स च्याम्पियन-२०८२’ संचालन गरेर बालबालिकालाई भोटिङ कार्ड बिक्री गर्न लगाउने तथा अभिभावकमार्फत पनि रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका–७ का २० वर्षीय आयुषा पाण्डे, २१ वर्षीय पुरुषोत्तम न्यौपाने, कन्चन गाउँपालिका–१ का २० वर्षीय शरदा क्षेत्री र १९ वर्षीया तनिशा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार आरुघाट गाउँपालिका–९ आरुघाट बजारमा उनीहरुले एपी नाचघर तिलोत्तमा मणिग्राम रुपन्देहीद्वारा आयोजना गरेको भन्ने पारेर ‘गोरखा डान्स च्याम्पियन-२०८२’ संचालन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए । ‘डान्स च्याम्पियनमा विभिन्न ठाउँका बालबालिकाहरुलाई नाचमा सहभागी बनाई छनौट गरिरहेको र सहभागीहरुलाई फाइनल जित्नका लागि प्रतिगोटा एक सय रुपैयाँ पर्ने भोटिङ कार्ड (गोरखा डान्स ग्रान्ड फिनाले च्याम्पेन लेखिएको) लिइ जसले भोटिङ कार्ड कटाउन सक्छ उ नै विजेता हुने, विजेता विभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाउने, विभिन्न पुरस्कारहरुसमेत जित्ने भनि झुटो प्रलोभन देखाइएको रहेछ,’ उनले भने ।
प्रलोभनमा पारी विश्वास दिलाएर नाचमा सहभागी बालबालिकाहरुको अभिभावकमार्फत पनि रकम असुली गरेको भन्ने पीडितहरुबाट आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट नगद ८९ हजार सात सय ६० रुपैयाँ, पुरै काटेको टिकटको अर्धकट्टी प्याड ७ थान, केही प्रति काटेको टिकटको प्याड १४ थान, नकाटेको टिकटको प्याड १३ थानसमेत फेला पारिएको उनले बताए ।
पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत गोरखामा ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । प्रतियोगिताबाट ठगिएका अन्यलाई पनि प्रहरी कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।
