गम्भीर घाइते २ जनालाई चितवन रिफर
लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका-६, खरखरे पहिरोमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर २ जनालाई पुरानो मेडिकल चितवन पठाइएको छ ।
बेंसीसहरबाट खुदी जाँदै गरेको ग.प्र.०४००१ ह ०२८५ नम्बरको अटो बिहीबार दिउँसो साढे १ बजेतिर खरखरे भीरबाट अन्दाजी १ सय मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराका अनुसार चालकसहित ६ जना घाइते भएकोमा उनीहरुलाई उद्धार गरी उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङ लगिएको थियो । अटोलाई भने नदीले बगाएको छ ।
गम्भीर घाइते गोरखा आरुघाट गाउँपालिका-१ मानगाउँ घर भइ हाल बेंसीसहर-६, चनौटे बस्दै आएकी ४५ वर्षीया स्यानुमाया गुरुङ र नुवाकोटको तादी गाउँपालिका-२ घर भइ हाल बेंसीसहर नगरपालिका ६ छनौटे बस्दै आएकी ४५ वर्षीया सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको डीएसपी बोहराले बताए ।
अन्य घाइतेहरु अटोचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ ताघ्रिङका ३० वर्षीय टोपबहादुर लामा, गोरखाको आरुघाट-१ मानगाउँ घर भइ हाल बेंसीसहर-६ चनौटे बस्दै आएका ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङको बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
पहिरोको अप्ठ्यारो सडक, क्षमताभन्दा बढी यात्रु रहेको र तीव्रगतिमा चलिरहेको बेला अटो अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अध्ययनले बताएको छ ।
