गृहमन्त्रीलाई कास्कीका कैदीबन्दीको पत्र, चौकीदार फेर्न माग

श्रावण ५, २०८२

अनुप पौडेल

Letter from Kaski prisoners to Home Minister, demanding change of watchman

What you should know

कास्की — चौकीदार नियुक्तिमा असन्तुष्टि जनाउँदै कारागार कार्यालय, कास्कीका कैदीबन्दीले गृहमन्त्री रमेश लेखकलाई माग पत्र पठाएका छन् । कारागारको ‘क’ ब्लकमा रहेका ३ सय ६६ मध्ये ३ सय ६२ जना कैदीबन्दीले चौकीदार फेर्नुपर्ने एकसूत्रीय माग राखेर सोमबार गृहमन्त्री लेखकलाई पत्र इमेल गरेका हुन् ।

कैदीबन्दीले बाहिर रहेका सहयोगीमार्फत मन्त्रालयको गुनासोसम्बन्धी इमेल आइडीमा उक्त पत्र पठाएका हुन् ।  कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार बनाउन कारागार कार्यालय कास्कीलाई आइतबार सिफारिस गरेको थियो ।

अर्का कैदी प्रकाश गुरुङ पक्षधर यो निर्णयमा असहमत छन् । नवनियुक्त चौकीदार अजयले कैदीबन्दीको हकहित तथा सुरक्षा गर्न नसक्ने, पक्षपात र निरंकुश कार्यशैली रहेको, कैदीबन्दीको आर्थिक शोषण हुने, सुशासन कायम नरहने प्रकाश पक्षधर कैदीबन्दीको जिकिर छ । 

आर्थिक चलखेल गरेर चौकीदार नियुक्त गरिएकाले त्यसको पनि छानबिन गर्न उनीहरूले माग गरेका छन् । माग पूरा नभएसम्म नयाँ चौकीदारलाई बहिष्कार गर्ने, आमरण अनसन बस्ने कैदीबन्दीले पत्रमा उल्लेख गरेका छन् ।  

आर्थिक वर्ष ०८२–८३ का लागि चौकीदारमा कास्कीबाट अजय गुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम सिफारिस भएको थियो । अजय र प्रकाश कर्तव्य ज्यानसम्बन्धी कसुर र प्रशान्त लागुऔषधसम्बन्धी कसुरमा कारागार जीवन बिताइरहेका छन् । 

अनुप

Link copied successfully