What you should know
कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मंगलबार सात दिनका लागि चीन भ्रमणमा जाँदै छन् ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेको नेतृत्वमा पाँच सदस्यीय टोली चीन जान लागेको हो ।
भ्रमण टोलीमा मुख्यमन्त्रीकी श्रीमती, कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली र मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटा पनि सहभागी हुनेछन् ।
मुख्यमन्त्री पाण्डे नेतृत्वको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका ल्हासा र लिन्झीका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।
ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव श्री वाङ जुनझेङ, लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान र उपसचिव एवं लिन्झी नगर जनसरकारका मेयर बातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण टोली चीन आउजाउ गर्नेछ । टोली साउन १२ मा पोखरा फर्कनेछ ।
असार २३ मा बसेको संघ सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री पाण्डेको चीन भ्रमण स्वीकृत गरेको थियो ।
