सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा ६ करोड ५४ लाख हिनामिना

श्रावण ५, २०८२

नारायण शर्मा

65.4 million embezzlement in Golden Future Savings and Loan Cooperative

What you should know

पोखरा — लमजुङको बेंसीसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा सञ्चालक समितिको मिलोमतोमा बचतकर्ताको ६ करोड ५४ लाख रकम हिनामिना भएको छ । सहकारी रजिस्ट्रारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालका अनुसार सहकारीका सञ्चालक समितिले भारतीय नागरिकलाई समेत २५ लाख ऋण लगानी गरेको थियो । 

बेंसीसहरस्थित मनाङ चौतारी चोकमा सहकारीको कार्यालय रहेको छ । त्यस्तै भोटेओडार र चितीमा सम्पर्क कार्यालय छ । सञ्चालक समितिले नक्कली ऋणी बनाएर ऋण लगानी गरेकोसमेत खुलेको छ । पदाधिकारी र सदस्यहरूले आफैंले कमसल धितो राखेर लिएको कर्जा नतिरेका कारण सहकारी डुबेको रिजालले जानकारी दिए । सहकारी कार्यालयले ०८१ असोज २९ गते नै छानबिन सकेको थियो ।

सहकारी कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई खटाएर निकालेको प्रतिवेदनले ६ करोड ५४ लाख रकम हिनामिना गरेको ठहर गरेको हो ।

रजिस्ट्रारको कार्यालयले गत असार १९ गते सहकारी ठगीको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । त्यसको १७ दिनपछि प्रहरीले साउन ४ गते मुद्दा दर्ता गरेको छ । तीन वर्षअघि संस्थाका अध्यक्ष भएका ऋषि अधिकारीले नै निवेदन दिएर छानबिन गर्न भनेपछि छानबिन थालिएको सहकारी डिभिजन कार्यालयले जानकारी दिएको छ । 

सहकारीका सचिव सन्तोष बस्नेत, पूर्वअध्यक्ष पदम राउत, हरिप्रसाद पौडेल,किशोर बस्नेतलगायतको मिलोमतोमा रकम हिनामिना भएको छानबिन प्रतिवेदनमा औंल्याइएको छ । अध्यक्ष ऋषि अधिकारीले आफू आउनुभन्दा अघि नै सहकारी संस्था समस्याग्रस्त भएपछि गत असोजमा आफैंले डिभिजन सहकारी कार्यालयमा अनुसन्धान गर्न लिखित उजुरी दिएको बताए । 'म आएको ३ वर्षअघि हो । म आएपछि एक रुपैयाँ लगानी गरिएको पनि छैन,' अधिकारीको दाबी छ । 

तत्कालीन अध्यक्षहरू शिव जोशी, हरि पौडेल, पदम राउतको कार्यकालमा लगानी गरेको रकम नउठेका कारण संस्था समस्या देखिएको अधिकारीले दाबी गरे । तत्कालीन अध्यक्षहरू पदम राउत, शिव जोशीको कार्यकालमा 'भारतीय नागरिकलाई लगानी गरेको रकम तिर्नू र उताबाट उठेपछि रकम फिर्ता लिनू' भनेर निर्देशन दिइएको छ । दुवैले असार मसान्तसम्म ७ लाख ५० हजार रकम बुझाइसकेका छन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर तेली साहले सहकारी कार्यालयले प्रहरीमा प्रतिवेदन बुझाएको उल्लेख गर्दै अब अनुसन्धान थालिने बताए । २०६९ सालमा स्थापना भएको यस सहकारीमा सेयर सदस्य ३ सय जना छन् भने १३ सय बचतकर्ता रहेका छन् । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully