What you should know
लमजुङ — संसारकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि.) मा सौर्य ऊर्जाबाट बिजुली बलेको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ मा पर्ने तिलिचो तालमा नेपाल विद्युत् प्राधिकरणले सोलार जडान गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोका अनुसार १ सय ३० वाटका ३ वटा सोलार प्यानल जडान गरिएको छ । यसबाट ३ सय ९० वाट विद्युत् उत्पादन हुने उनले बताए ।
बिजुली पुगेपछि तिलिचो ताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई मोबाइल चार्ज गर्न सहज भएको उनले बताए । उत्पादित विद्युत् तिलिचोस्थित टी सप (चिया पसल) मा जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कूल ३ लाख ५० हजार रुपैयाँमा तिलिचो ताल र माथिल्लो मनाङको प्राकेन गुम्बामा सौर्य ऊर्जा जडान गरेको छ । यसमा ब्याट्री, इन्भर्टर, चार्ज कन्ट्रोलरलाई सुरक्षित रूपमा राखिएको छ । बाहिर राखिएको सोलार प्यानल हिउँदको समय हिउँले ढाकिए पनि हिउँ पन्छाएर प्रयोगमा ल्याउन मिल्ने मनाङ वितरण केन्द्र प्रमुख महतोले बताए ।
नेपाल विद्युत् प्राधिकरणले तिचिलो बेस क्याम्पस (४,२५० मि.) मा यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याएको छ । बेस क्याम्पमा ५० केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर राखेर विद्युत् वितरण गरिएको छ । बेस क्याम्पबाट ताल पुग्न ४–५ घण्टा नै लाग्ने र वरपर मानव बस्ती पनि नहुने साथै बेस क्याम्पबाहेक ठाउँमा विद्युत् पनि नभएको अवस्थामा तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको महतोले बताए ।
तिलिचो ताल पुग्ने पर्यटकले यसअघि चिसोका कारण ब्याट्री छिटो सकिने र बेस क्याम्पबाट तस्बिर र भिडियो खिच्दै गएपछि चाहेजति तस्बिर तथा भिडियो खिच्न पाउने थिएनन् । ताल छेवैमा मोबाइल चार्ज गर्न पाउने भए पछि पर्यटकले मनग्गे तस्बिर, भिडियो लिन सक्ने भएका छन् ।
काठमाडौं, पोखरा, चितवनबाट लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे भएर माथिल्लो मनाङको खाङसारसम्म सवारी साधनमा जान-आउन सकिन्छ । माथिल्लो मनाङबाट करिब ४५ किलोमिटरको दूरीमा रहेको तिलिचो ताल पुग्न खाङसारबाट श्रीखर्क–बेस क्याम्प हुँदै जानुपर्छ । खाङसारबाट करिब ६ घण्टामा तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पबाट तिलिचो ताल पुग्न ४–५ घण्टा लाग्छ ।
