बागलुङमा सूर्यमुखीको व्यावसायिक उत्पादनको प्रयास

श्रावण ३, २०८२

प्रकाश बराल

Attempts at commercial production of sunflower in Baglung

What you should know

बागलुङ — बागलुङ नगरपालिका–१३ को दम्कफाँटको छेउछेउ अहिले पहेँलपुर देखिन्छ । यहाँ अहिले सयौं सूर्यमुखीका फूल फूलेका छन् । बसाइँसराइले धेरै खेत बाँझै बनेपछि यहाँ सूर्यमुखी लगाइएको हो ।

सिंचाइको अभावमा धान रोप्न छाडेका धेरै गाउँलेको जग्गा एकीकृत गरेर सूर्यमुखी लगाइएको छ । पूर्वशिक्षक टीकाराम शर्माले सूर्यमुखीको खेती गरिरहेका हुन् ।

झण्डै ३५ वर्ष पढाएर निवृत्त भएका बागलुङ नगरपालिका–१३ का ७० वर्षीय शर्माले एक वर्षदेखि सूर्यमूखी स्याहारेर बसेका छन् । बाँदर आतंकले हैरान भएका, सिंचाइ सुविधा नपाएर बाँझै राख्न बाध्य स्थानीयले शर्मालाई जग्गा उपलब्ध गराएका हुन् । ‘वर्षातमा त आकाशे पानीको भरमा पनि धान रोपिन्थ्यो, हिउँदमा भने सास्ती थियो,’ स्थानीय उनले भने, ‘विदेश गएका छोराको सल्लाहमा जमिन भाडामा लिएर अहिले सूर्यमुखीको खेती सुरु गरेको छु ।’ 

एक सय रोपनी जमिन भाडामा लिएर सूर्यमुखी खेती थालेको उनले बताए । स्थानीयको जमिन एकीकृत गरेर खेती गरेको उनले बताए । एक मुरी धान फल्ने खेतको ५ हजारका दरले भाडा दिने गरी जमिन भाडामा लिएका हुन् । शर्माका छोरा केदार हाल वैदेशिक रोजगारीमा छन् । दैनिक उत्पादनको काम भने टीकारामले गर्दै आएका छन् । 

सूर्यमुखीबाट तेल निकाल्न सकिन्छ । यो तेल बजारमा निकै बिक्री पनि हुन्छ । उत्पादन गर्न सकेमा बजार राम्रो भएकाले उनी हौसिएका छन् । तर अहिलेसम्म त्यसको प्रशोधनको काम जिल्ला र आसपासमा भएको उनलाई थाहा छैन । तसर्थ तेल निकाल्ने काम भने कहिलेदेखि सुरु गर्ने भन्नेमा उनी प्रस्ट छैनन् । ‘पहिलो पटक प्रयास गरेका छौं, जानेबुझेकाबाट सल्लाह लिएर काम गर्छु,’ उनले भने, ‘छोराहरूले पनि योजना बनाएका होलान् ।’ 

आगामी दिनमा उत्पादन बढाउने लक्ष्यमा उनी छन् । त्यसका लागि यो वर्षको बीउलाई बचाएर समयमा लगाउने लक्ष्य राखेका छन् । छोराको चाहनामा गरिएकाले एक–दुई सिजनमा घाटा भए पनि निरन्तर उत्पादन गरिरहने उनले बताए । ‘यो खेती बाँदरबाट पनि सुरक्षित रहेछ, अहिलेसम्म बाँदरले खाएको देखिएको छैन,’ शर्माले भने, ‘वातावरण र मौसम अनुसार उत्पादन बढाउन प्राविधिक ज्ञान पनि लिने क्रम चलिरहेको छ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले यो क्षेत्रमै नयाँ खेती भएकाले कसरी उत्पादन बढाउने, बजारीकरण तथा अन्य सेवाको बारेमा अध्ययन गर्ने बताए । ‘अहिलेसम्म हामीले तेलहन बालीलाई व्यावसायिक बनाउनै सकेका छैनौं, यो त झनै नयाँ हो,’ सिलवालले भने, ‘किसानको उत्साहलाई सम्बोधन गर्ने र बजारीकरणमा साथ दिने हाम्रो प्रयास रहनेछ ।’

प्रशोधन र बजारीकरणका लागि प्रयास गरेका जिल्ला वा प्रदेशका अनुभवी प्राविधिक ल्याएर स्थलगत अनुगमन गराएपछि मात्र यसको यकिन गर्न सकिने सिलवालले बताए । अहिलेसम्म जिल्लामा छिटफुट आकर्षणका लागि लगाए पनि व्यावसायिक रूपमा सूर्यमुखी खेती भएको थिएन ।

शर्माले पनि सर्लाहीबाट सूर्यमुखीको बीउ ल्याएर काम थालेकाले बजारीकरण तथा प्रशोधनका लागि तराईकै व्यवसायीसँग सहकार्य गर्ने बताए । स्थानीय तह वा कृषि ज्ञान केन्द्रबाट साथ पाएमा झनै राम्रो हुने उनले सुनाए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully