लमजुङमा १ दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने

श्रावण २, २०८२

आश गुरुङ

1.6 MW of solar energy will be produced in Lamjung

What you should know

लमजुङ — लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको खाली जग्गा उपयोग गरी १ दशमलव ६ मेगावाटको सोलार ऊर्जा उत्पादन गरिने भएको छ ।

मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका ड्यामको पूर्वपट्टी बेंसीसहर नगरपालिका-११, चितीस्थित बरबोट शेराको उक्त जग्गामा जमिन प्रयोग गरी पिक क्षमताको ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य ऊर्जा उत्पादन केन्द्र निर्माण गरिन लागेको हो ।

जर्मन सरकारको आर्थिक अनुदान सहयोगमा जर्मन विकास बैंक (केएफडब्ल्यू) को माध्यमबाट कार्यान्वयनमा ल्याइएको ‘ग्राउन्ड माउन्टेड ग्रिड कनेक्टेड सोलार पीभी प्रोजेक्ट’को शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, जर्मन दूतावास काठमाडौंका विकास सहयोग प्रमुख डा. बेन्जामिन साइडेल, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, बंगलादेश तथा नेपालका लागि केएफडब्ल्यू कार्यालयका निर्देशक माइकल सुमसरलगायतले सिलान्यास गरे । उक्त अवसरमा नेपालस्थित केएफडब्ल्यूका कार्यालय प्रमुख निरज सुवेदी, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरु, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

जर्मन सरकारको आर्थिक अनुदानमा लुम्बिनी प्रदेशको नवलपरासी गण्डक सुरजपुरामा ५ दशमलव ८ मेगावाट र कर्णाली प्रदेशको सुर्खेत झुप्रामा २ मेगावाटको सौर्य ऊर्जा आयोजना सुरु भएको छ । कुलेखानीको मार्खुमा उर्जा सौर्य उर्जा उत्पादनका लागि अध्ययन भइरहेको छ । ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य उर्जा परियोजनाका लागि जर्मन सरकारले ८ मिलियन युरो बराबरको अनुदान उपलब्ध गराएको छ ।

यस परियोजनालाई जर्मन परामर्शदाता संस्था गोपा टेक जर्मनीको प्राविधिक सहयोग रहनेछ । निर्माणको जिम्मा भारतीय कम्पनी प्रोजेल ग्रीन इनर्जी लिमिटेडले लिएको छ । निर्माण कम्पनीले परियोजनाको सम्पूर्ण डिजाइन, उपकरण आपूर्ति, जडान, गुणस्तर तथा सम्बन्धित प्रसारण लाइनहरुको निर्माण गर्नेछ । साथै सौर्य केन्द्रको ५ वर्षको सञ्चालन तथा मर्मतसम्भार र २ वर्षको जिम्मेवारी अवधि निर्माण कम्पनीले नै लिनेछ ।

जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत लगानीमा डेढ दशकअघि मध्यमर्स्याङ्दी जलविद्युत परियोजना निर्माण भएको थियो । अहिले तिनै केएफलडब्ल्यूको अनुदान सहयोगमा परियोजना क्षेत्रभित्रै सोलार ऊर्जा केन्द्र निर्माण हुन लागेको हो ।

आयोजना प्रमुख प्रकाश राउतका अनुसार यो आयोजना २०८१ माघ २४ मा ठेक्का सम्झौता गरेकोमा ०८२ जेठ १३ बाट सम्झौता लागू भएर ०८२ फागुन १ मा सक्नेछ । उनका अनुसार आगामी फागुन १ गतेभित्र ९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । कुलेखानी मार्खको भने अध्ययनकै क्रममा छ । उनका अनुसार ४ वटै सौर्य उर्जा केन्द्रका लागि जर्मन सरकारबाट ८ लाख युरो अनुदान लगानी हुने र नेपालको करिब ३० प्रतिशत अर्थात् करिब ३ लाख युरो लगानी हुने प्रक्षेपण गरिएको छ ।

जर्मन दूतावास काठमाडौंका विकास सहयोग प्रमुख डा. बेन्जामिनले नेपालको उर्जा विकासमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताउँदै यसको प्रवर्द्धनमा थप सहयोग हुन सक्ने बताए । केएफडब्ल्यू कार्यालयका बंगलादेश र नेपाल निर्देशक माइकलले सोलार ऊर्जाको विकासले नेपालको विकासमा थप मद्दत पुग्ने र यसलाई निर्धारित समयमा सक्नुको विकल्प नभएको औंल्याए । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जलविद्युत् आयोजनामा भन्दा बैकल्पिक ऊर्जामा जोड दिन सकिए यसले क्षति कम गर्ने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले उक्त परियोजनाले वातावरणमैत्री तथा नवीकरणीय उर्जाको प्रवर्द्धनमा स्वच्छ उर्जाको आपूर्ति सुनिश्चित हुने अपेक्षा राखे । उनले जर्मन सरकारको अनुदान सहयोगप्रति आभार व्यक्त गर्दै उर्जामा थप सहयोग रहनेमा विश्वास व्यक्त गरे ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully