गोरखामा तोकियो ढुवानी तथा कामदारको ज्यालादर

श्रावण १, २०८२

हरिराम उप्रेती

Transport and labor rates fixed in Gorkha

गोरखा — गोरखामा चालु आर्थिक वर्ष २०८२/८३ का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्माण सामग्रीको ढुवानी तथा मेसिन तथा उपकरणको भाडा, कामदारको ज्याला निर्धारण गरेको हो ।

नयाँ दररेट अनुसार अदक्ष कामदार, ज्यामी, क्याम्प वर्कर, कुल्ली, लेन्थ वर्करको ज्यालादर बढेको छ । चालु वर्ष ती कामदारले प्रतिजवान प्रतिदिन ८८० रुपैयाँ ज्याला पाउनेछन् । गत दुई आर्थिक वर्ष दैनिक ८७५ रुपैयाँ थियो ।

वन हेरालु, नर्सरी हेरालु, सर्भे, पोलिङ, केबलिङ, हेल्पर, चेनमेन र वाचमेनको प्रतिजवान ६ सय ८० ज्याला निर्धारण गरिएको छ । अर्धदक्ष र दक्ष कामदारको गत वर्षकै ज्यालादर कायम गरिएको छ । अर्धदक्षको प्रतिदिन प्रतिजवान ९९० र दक्ष कामदारको १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।

खच्चडबाट ढुवानी हुने सामग्रीको ढुवानी भाडा प्रतिकोष प्रतिकेजी २.८ रुपैयाँ, चीनसँग सीमा जोडिएका साबिकका गाविस छेकम्पार, चुम्चेत, बिही, सामागाउँ, ल्हो, प्रोकमा सदरमुकामबाट हेलिकोप्टर ढुवानी भाडा १७० रुपैयाँ कायम गरिएको छ । अन्य दुर्गम सिर्दिबास, उहिया, काशीगाउँ, केरौजाको सदरमुकामबाट  ढुवानी भाडा प्रतिकेजी १५० कायम गरिएको छ ।

श्रमिकहरुको हकमा चुमनुव्री गाउँपालिकाअन्तर्गत छेकम्पार, चुम्चेत, बिही, ल्हो, प्रोक, सामागाउँमा ढुवानी  तथा अनलोड तौलाइ, चौकाइ गराउनुपर्दा ज्यालादारी तथा ढुवानी दर कायम गर्दा ४० प्रतिशत र अन्य दुर्गम क्षेत्रमा दररेटमा २० प्रतिशत थप गरी ज्यालादर तथा ढुवानी दर कायम गर्ने बैठकले निर्णय गरेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully