What you should know
स्याङ्जा — उच्च अदालत पोखराले जबरजस्ती करणी मुद्दामा २०८१ चैत १० गते तीन महिनाको कैद सजाय फैसला गरेपछि फरार रहेकी पुतलीबजार नगरपालिका–१३ की ५४ वर्षीया खुमा भनिने खुमकुमारी दर्जी पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोषाकमा खटिएको प्रहरीको टोलीले दर्जीलाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । दर्जीलाई कैद सजाय भुक्तानको लागि जिल्ला अदालत स्याङ्जामा हाजिर गराइएको प्रहरीले जनाएको छ । घटना २०७० साल फागुनको हो ।
एसपी न्यौपानेका अनुसार खुमाले भदैनी पर्ने बालिकालाई स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल लैजाँदा श्रीमान रामेश्वर नेपालीबाट बलात्कृत भएको खुलेको थियो । घटना बाहिरिएपछि खुमाले उक्त घटना ढाकछोप गर्न खोजिन् । गाउँमा छलफल हुँदा औषधि उपचार गर्ने र पालनपोषण गर्ने बताउँदै उनले जाँचका लागि अस्पताल लगेकी थिइन् ।
बलात्कारको घटना लुकाएर घरमा नै मिलाउन खोजेपछि प्रहरीले प्रतिवादी बनाई खुमालाई पनि मुद्दा दर्ता गरेको एसपी न्यौपाने बताउँछन् । जिल्ला अदालत स्याङ्जाले २०८१ वैशाख १६ गते खुमालाई ७ दिन र उनका श्रीमान् रामेश्वरलाई १८ वर्ष कैद सजाय तोकेको थियो । श्रीमान् अहिले कैद सजाय भुक्तानका लागि जिल्ला कारागार छन् । श्रीमती खुमा भने ७ दिन कैद सजाय भुक्तान गरिन् ।
त्यसपछि २०८१ साउन २२ गते जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराइन् । उच्च अदालतले ३ महिना कैद सजाय सुनायो । खुमाले ७ दिन यसअघि कैद सजाय भुक्तान गरेको हुँदा ७ दिन घटाएर अहिले २ महिना २३ दिन कैद सजाय भुक्तान गर्नुपर्ने एसपी न्यौपानले बताए ।
मुद्दा पुरानो भइसकेकाले यसबारे धेरै विवरण उल्लेख नभएको प्रहरीले जनाएको छ । अदालतबाट भएका विभिन्न मुद्दाका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने र न्यायिक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माण सुनिश्चितताका लागि जिल्ला प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । सोही अभियानअन्तर्गत सादा पोसाकमा खटिएको विशेष अप्रेसन टोलीले दर्जीलाई पक्राउ गरेको थियो ।
