लमजुङ कारागारको गेट भत्कियो 

असार ३२, २०८२

आश गुरुङ

The gate of Lamjung Jail was broken

लमजुङ — लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएको छ । कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एकमात्र गेट भत्किएको हो ।

कारागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार पानी परिरहेको बेला बुधबार अपराहन् पौने ५ बजेतिर पर्खालसहित गेट भत्किएको हो । उनका अनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । 

१० जना महिला र २५ जना पुरुष गरी ३५ जना क्षमताको कारागार भए पनि जिल्ला कारागारमा तेब्बर बढी कैदी र थुनुवा छन् । कारगारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र थुनुवा छन् ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार जीर्ण पर्खाल भीषण पानी पर्दा भत्किएको हो । उनले भवन जीर्ण भएको र पर्खालहरुमा समस्या देखिएको बताए । विगतका वर्षमा पनि कारागारको पर्खाल भत्किने गरेको थियो । 'कारागार जीर्ण छ । भवन बनाउने प्रयास भैरहेको छ,' उनले भने । 

पर्खाल भत्किएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको प्रशासनले जनाएको छ । नेपाली सेना पनि कारागार सुरक्षार्थ परिचालनका लागि समन्वय भैरहेको प्रशासनले जनाएको छ । 

विस २०२८ मा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको बेलामा निर्माण गरिएको यस कारागारको हालसम्म पूर्ण रुपमा मर्मत सम्भार हुन सकेको छैन ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully