विद्यार्थी र किसानलाई निःशुल्क बिरुवा

असार ३२, २०८२

प्रकाश बराल

Free seedlings to students and farmers

बागलुङ — यहाँका एक युवकले विद्यार्थी र किसानका घरघरमा पुगेर फलफूलका बिरुवा वितरण गरिरहेका छन् । वर्षात लागेपछि उनले यहाँका दुई नगरपालिका र दुई गाउँपालिकामा यो काम सुरु गरेका हुन् ।

विद्यार्थीलाई वितरण गरिएका बिरुवा घरमा लगेर रोप्ने तरिका पनि उनले सिकाएका छन् । किसानलाई पनि आवश्यकताका आधारमा बिरुवा वितरण गरेको उनले बताए । 

जैमिनी नगरपालिका–२ का सुजन सापकोटाले गाउँघरमा किसानलाई आवश्यक पर्ने बिरुवा घरघरमै लगेर बाँडेका हुन् । तीन वर्षदेखि आफूले यो अभियान संचालन गरिरहेको उनले बताए । उत्पादनमुखी र हरियाली बागलुङ अभियानमा जुटेका युवकले तीन वर्षमा १२ हजार बढी विरुवा वितरण गरिसकेका छन् । उनी कृषि विषयमा स्नातकोत्तर गरेका विद्यार्थीसमेत हुन् ।

स्थानीय हावापानी र माटोसमेत अध्ययन गरेर आवश्यकताका आधारमा बिरुवा वितरण गरिरहेको सापकोटाको दाबी छ । यस वर्ष २० विद्यालय र १९ वडामा बिरुवा वितरण गर्ने लक्ष्य बनाएको उनले बताए ।

‘४ हजार बढी बिरुवा वितरण गर्ने लक्ष्य छ,’ उनले भने, ‘विशेष गरी किसानलाई फाइदा पुग्ने सुन्तला, कागती, टिमुर, किबी, श्रीखण्ड, केरा लगायतका बिरुवा वितरण गरिरहेको छु ।’ 

कृषि विषयमा स्नातकोत्तर गरेकाले उनले आफ्नै नर्सरीको पनि तयारी गरेका छन् । यसअघिका बिरुवा भने उनले सल्यान र रुकुमका नर्सरीबाट किनेर ल्याइ वितरण गरेको बताए । कतिपय बिरुवा भने विभिन्न नर्सरीमा समन्वय गरेर पनि ल्याएका छन् । उनले जैमिनी र बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकालाई लक्षित गरेर यो काम गर्दै आएको बताए ।

कृषि प्राविधिक भएकाले उनले बिरुवामा लाग्ने रोग किरा देखिएमा आवश्यक पर्ने उपचार पद्धतिबारे पनि जानकारी दिने गरेका छन् । उनको कामले किसानलाई फाइदा पुगेको कृषि ज्ञान केन्द्रकी कृषि अधिकृत प्रतीक्षा शर्माले बताइन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully