लार्केपास क्षेत्रमा १६ वटा मार्किङ पोल थपियो

असार ३२, २०८२

हरिराम उप्रेती

Added 16 marking poles in the Larkepass area

गोरखा — लार्केपास गर्ने पर्यटकलाई लक्षित गरी मनास्लु पदमार्गअन्तर्गत साम्दोदेखि लार्के टपसम्म यस वर्ष १६  वटा संकेत पोल(मार्किङ पोल) थप गरिएको छ । हिउँदको समयमा हिमपातले पैदलमार्ग ढाक्दा बाटो पहिल्याउन सजिलोका लागि मार्किङ पोल थप गरिएको मनास्लु संरक्षण क्षेत्र(एमक्याप)का प्रमुख सन्तोष सेरचनले बताए । 

यसअघि लार्केपास क्षेत्रमा १०८ वटा मार्किङ पोल रहेको थियो । यस वर्ष लार्के बजारदेखि लार्के टपसम्मको क्षेत्रमा मात्र मार्किङ पोल थप भएको उनले बताए । ‘यसअघिको मार्किङ पोल पातलो भएको क्षेत्रमा थप गरेका हौँ,’ उनले भने,‘हिउँ पर्ने सिजनमा हिउँले बाटो ढाक्दा पर्यटकले बाटो बिराउने सम्भावना रहन्छ, संकेत पोल भएपछि बाटो पहिल्याउँदै अघि बढ्न सहजताका लागि यस वर्ष थप गरेका हौँ ।’

लार्केपास जाने पर्यटकलाई तथा यात्रीहरूलाई सही दिसा पहिचानका लागि मार्किङ पोल सहयोगी बन्ने उनले बताए । ‘हिउँ कति जम्यो पोलको अवस्थितिले पनि थाहा दिने भयो, यसो हुँदा जोखिमको अवस्था पनि बुझिन्छ,’ उनले भने । मार्किङ पोलको सहायताले हिमपात हुँदा गन्तव्यमा पुग्न पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै एमक्यापले यस वर्ष मनास्लु क्षेत्रमा ३५ वटा साइनपोस्ट पनि थप गरेको छ । चुमनुव्री गाउँपालिकाअन्तर्गतको चुम उपत्यका, नुब्री उपत्यकामा साइनपोस्ट राखिएको हो । त्यस्तै पहिलो पटक गुम्लालुङदा र गणेश हिमाल आधार शिविरमा पनि साइनपोस्ट राखिएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully