कास्की — मनसुन सक्रिय रहँदा हुने क्षति न्यूनिकरणको उद्देश्यले कास्कीको पर्यटकीय गाउँ सिक्लेस आवतजावतमा कडाइ गरिएको छ ।
जिल्ला सुरक्षा समिति, कास्कीको मंगलबारको बैठकले वर्षाको समयमा सुरक्षा संयमता अपनाउन, बाढी–पहिरोले यात्रु र सवारीमा हुनसक्ने सम्भावित क्षति न्यूनिकरणका लागि बुधबारदेखि लागू हुने गरी आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।
सिक्लेस जाने सवारी साँझ ५ बजेभित्र प्रस्थानविन्दु काहुँखोलाबाट छुटिसक्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । काहुँखोला फर्कने सवारी पनि बिहान ५ बजेअघि सिक्लेसबाट छुट्न पाउने छैनन् । यो निर्णय बुधबारदेखि ७ दिनका लागि सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ । पोखराबाट ३७ किलोमिटर टाढा रहेको सिक्लेस पुग्न पोखराबाट साढे २ घण्टा लाग्छ ।
यसअघि प्रशासनले विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ आवतजावत असार २५ देखि १५ दिनलाई कडाइ गरेको थियो । यी गाउँमा पनि साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट छुट्नुपर्ने र बिहान ५ बजेअघि छुट्न नपाइने नियम कार्यान्वयन गरिएको छ ।
सिक्लेससहित ५ वटै गाउँमा निर्णयानुसार सवारी आवतजावत भए–नभएको निरीक्षण सम्बन्धित ठाउँमा रहेका प्रहरी यूनिटबाट हुन्छ ।
