बागलुङ — बागलुङ नगरपालिका-१३ दम्कफाँटमा सिँचाइ नहुँदा धेरै किसान निराश थिए । आकासे पानीको भरमा धान रोपाइँ हुन्थ्यो । अब भने यहाँका किसानले सिँचाइ सुविधा पाउने भएका छन् ।
हजारौं मुरी धान फल्ने यो फाँटलाई सत्रसयका रुपमा पनि चिनिन्छ । वर्षौंदेखि सिँचाइ नपाएर किसानले बाँझै छाड्न बाध्य थिए । सिँचाइ आयोजनाका कारणले उनीहरुमा उत्साह थपिएको छ । हाल यहाँ लिफ्ट सिँचाइ आयोजना निर्माणाधीन छ ।
दम्कफाँटमा झन्डै ४ सय किसानको खेत छ । सिँचाइ अभावले आकासे पानीको भर पर्दै आएका उनीहरुले धेरै लामो प्रयासबाट योजना पाएको बताए । ‘वर्षौंदेखि हामीले धान रोप्न पाएका थिएनौं, अब भने आसा पलाएको छ,’ दम्कफाँट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर पौडेल क्षेत्रीले भने, ‘ठेकेदारले काम भने अझै पूरा नगर्दा यो बर्सतमा पर्याप्त सिँचाइ पुगेको छैन ।’ अर्को वर्ष भने पर्याप्त सिँचाइ गर्न पाउने उनले आसा व्यक्त गरे ।
आयोजना पूरा नभएकाले यो वर्ष पनि कतिपयले धान रोप्न पाएका छैनन् । सिँचाइ अभावमा बाँझै छाडेकाहरु अब भने रोप्न पाइने आसमा बसेका छन् । ‘अब त धान रोप्न पाइन्छ कि भन्ने लागेको छ,’ स्थानीय सीता पौडेलले भनिन्, ‘समयमा काम सकिदिएको भए यो वर्षामै दुःख पर्ने थिएन, अर्को वर्ष त सजिलै रोप्न पाइएला ।’ सिँचाइ अभावमा यो वर्ष पनि केही समस्या भने भएको उनले बताइन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत यो आयोजनाको काम २०८०मा सुरु भएको हो । कालीगण्डकी नदीमा समवेल बनाएर ४ वटा पाइपबाट हरेक दिन ३ घण्टाका दरले पानी तान्ने योजनाअनुसार काम थालिएको छ । तीन करोड लागतको यो आयोजनामा पपैया बीएससी संयुक्त निर्माण कम्पनीले झन्डै आधा रकम कम मूल्यमा ठेक्का लिएपछि आयोजना पूरा नभएको हो । ठेकेदार कम्पनीले गत हिउँदमै सक्नुपर्ने काम अझै पूरा नगरेको हो ।
तत्कालको सिँचाइका लागि भने किसानले श्रमदान गरेर काम चलाएका छन् । साथै ३२ लाख रुपैयाँ बराबरको प्राविधिक काम समेत उपभोक्ताले गरेको वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । ‘भन्न सत्रसय फाँट भनिन्छ, यहाँ १७ हजार मुरी धान फल्छ, तर सिँचाइ अभावमा धेरै सास्ती थियो, अब केही होला भन्ने छ,’ उनले भने, ‘आयोजना पूरा भएपछि हिउँदमा पनि खेतीपाती लगाउन पाइने भयो ।’
पहिलो चरण्मा यो आयोजनाबाट २१ हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ । त्यसपछि बढाएर लैजाने उपभोक्ता समितिका अध्यक्ष क्षेत्रीले बताए । हाल कालीगण्डकी नदीमा ४५ फिटको समवेल बनिसकेको छ । त्यस बाहेक ४ सय ८५ मिटर उचाइमा पानी पठाएर कालीढुंगामा ८५ हजार घनलिटरको स्टेप ट्यांकी समेत बनेको छ । उक्त पानीलाई पैयुँपाटा लगेपछि वितरण ट्यांकीमार्फत दम्कफाँटमा ७५ वटा गेटबलमार्फत १० मुख्य र १ सय ३१ वटा साना मुहान बनाउनुपर्नेछ ।
अहिलेसम्म मुल ट्यांकीमा पानी पुगे पनि वितरणमा समस्या भएको हो । फाँटमा व्यवस्थित पानी वितरणका लागि पाइपलाइन बिछ्याउन बाँकी रहेको समेत क्षेत्रीले बताए ।
दुईपटक म्याद थपेर ठेकेदार कम्पनीले आगामी चैत मसान्तभित्र काम सक्ने लक्ष्य राखेको छ । आयोजनाका इन्जिनियर विशाल थापाले कामको मुख्य भाग सम्पन्न भएकाले साना काम छिट्टै सकिने बताए । ‘हामीले पनि ताकेता गरिरहेका छौं, केही काम बाँकी छ,’ उनले भने, ‘यो वर्ष धान रोप्न मिल्ने गरी पानी लिफ्ट भइसकेको छ, वितरणको काम पनि छिट्टै पूरा गराउन पहल गरेका छौं ।’
