गोरखा — भिरबाट खसेको ढुंगा लागेर घाइते भएका चुमनुब्री गाउँपालिका–६ चुम्चेतका उइटुप लामाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।
मंगलबार चुम्चेतबाट छेकम्पार जाने क्रममा रेन्जमस्थित भिरबाट खसेको ढुंगा लागेर लामा घाइते भएका थिए ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंको पहल र समन्वयमा बुधबार अल्टिच्युड एयरको हेलिकप्टरमार्फत लामाको उद्धार गरिएको हो । भिरबाट खसेको ढुंगा लागेर उनको देब्रे खुट्टामा गम्भीर चोट लागेकाले चुम्चेत स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो ।
थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको हो । उत्तरी गोरखाको चुम्चेतमा सडक सञ्जाल नपुग्दा आकस्मिक उपचारका लागि महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको छ ।
