कास्कीका चार गाउँमा राति सवारी चलाउन रोक

असार २५, २०८२

अनुप पौडेल

No night driving in four villages of Kaski

कास्की — मनसुन सक्रिय भएपछि कास्कीका चारवटा गाउँमा १५ दिनका लागि राति सवारी आवतजावतमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बाढी, पहिरोले यात्रु र सवारी साधनमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न बुधबारदेखि सार्वजनिक–निजी सवारी आवतजावतमा कडाइ गरेको हो ।  

प्रशासनले बुधबार सूचनामार्फत घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङमा रातको समयमा सवारी आवतजावतमा रोक लगाएको छ । कास्कीको विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक जाने सवारी साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने सूचनामा उल्लेख छ । काहुँखोलादेखि ताङतिङ आवतजावत गर्ने सवारी दिउँसो साढे ४ बजेभित्र गन्तव्यतर्फ छुट्नुपर्ने समय निर्धारण गरिएको छ । 

घान्द्रुकदेखि विरेठाँटी, उल्लेरीदेखि विरेठाँटी, लान्द्रुकदेखि लुम्ले, ताङतिङदेखि काहुँखोला जाने सवारी बिहान ५ बजेपछि प्रस्थान विन्दुबाट गन्तव्यतर्फ छुट्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । ‘ठाउँ–ठाउँमा प्रहरी यूनिट छन् । त्यहाँबाट सम्भावित जोखिमबारे जानकारी गराइनेछ । सबै निगरानी त्यहाँबाट हुन्छ,’ उनले भने । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा असार २३ मा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायीलगायत सरोकारवालाबीच बैठक बसेको थियो । उक्त बैठकले बाढी, पहिरोको जोखिममा रहेका र धेरै आवातजावत हुने गाउँमा रातको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको थियो । 

अनुप

Link copied successfully