लमजुङ — सरकारले सुन तथा बहुमूल्य धातु व्यापारमा लगाएको कर तथा भ्याटविरुद्ध लमजुङका सुनचाँदी व्यावसायीले बुधबार मोटरसाइकल र्याली निकालेका छन् ।
लमजुङका सुनचाँदी व्यावसायीले बुधबार सुन्दरबजार र बेंसीसहरमा हातमा कालोपट्टी बाँधेर व्यानर र झन्डाका साथ विरोध र्याली निकालेका थिए ।
सुन्दरबजारको लमजुङ क्याम्पस चोकबाट सुरु भएको र्याली सुन्दरबजारकै खत्रीठाँटी पुगेर मिलनचोकमा आइ कोणसभामा परिणत भयो । कार्यक्रमलाई नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश उपाध्यक्ष रविन विश्वकर्माले सम्बोधन गरेका थिए । त्यसपछि पाउँदी हुँदै सिउँडीबार भएर भोटेओडार आएको व्यावसायीले कृष्ण बगैंचामा कोणसभा गरेका थिए । कार्यक्रमलाई नेपाल सुनचाँदी व्यावसायी महासंघ गण्डकी प्रदेश सदस्य दीपक रामदाम र लमजुङ सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष एवम् सल्लाहकार मनिलाल विश्वकर्माले सम्बोधन गरेका थिए ।
त्यसपछि उदिपुर–भकुण्डे हुँदै बेंसीशहर आएको टोलीले बेंसीसहर बजार परिक्रमा गरी मनाङे चौतारा पुगेर फर्केपछि भीमसेनस्थान चोकमा कोणसभा गरेका थिए । कार्यक्रमलाई सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश उपाध्यक्ष रविन विश्वकर्मा र लमजुङ सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष तोत्रबहादुर विश्वकर्माले सम्बोधन गरेका थिए ।
लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बमबहादुर विश्वकर्माले आर्थिक मन्दीको बेला व्यावसायीमाथि थप करको भार थोपर्नु अनुचित रहेको भन्दै सरकारले यो निर्णय फिर्ता लिनुपर्ने बताए । र्यालीमा कालीगढ साथै अन्य कर्मचारीहरुले समेत सहभागिता जनाएका थिए ।
सरकारले सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको विरोधमा सुनचाँदी व्यावसायहरुले आन्दोलन थालेका हुन् ।
