पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, लघु विद्युत् गृह बगायो

असार २५, २०८२

प्रकाश बराल

Landslide blocked Kaligandaki corridor, washed away small power plant

बागलुङ — मंगलबार रातिदेखि परेको अविरल वर्षातले खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

बागलुङ नगरपालिका वडा नं १० को एक्लेसालमा खसेको पहिरोले करिडोर बगेपछि बाटो ठप्प भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

करिडोरसँगै मालढुंगा कुश्मीसेरा सडक पनि बगेको छ । यो सडकमा पनि सवारी चल्न सकेका छैनन् । दुवै सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका मानिसहरु सदरमुकाम आउन सकेका छैनन् । 

नियमित आउने गरेको दूध तथा तरकारी ढुवानीमा असर परेको स्थानीय व्यवसायी खगेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै वर्षातले जैमिनी नगरपालिका वडा नं ९ को पैयुँथन्थापको बिजुवास्थित सराते खोलामा आएको बाढीले स्थानीय लघु जलविद्युत् आयोजनाको विद्युत् गृह बगाएको छ । 

यो गृह बग्दा स्थानीयले विद्युत् सेवा नपाएर फोन तथा अन्य सेवा लिन नपाएको गुनासो गरेका छन् । यसैबीच मुस्ताङदेखि आएको बाढीले कालगण्डकीको सतह बढेर किनार क्षेत्रका बस्तीमा त्रास फैलिएको छ । 

मालढुंगा र जैमिनी धाम लगाएको स्थानमा खोला नदी छेउमा कसैलाई पनि नजान सतर्क बनाइएको भारतीले जानकारी दिए । किनारी क्षेत्रमा हुन सक्ने संभावित असर न्यूनीकरणका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully