बेंसीसहर-डुम्रे सडकः उदिपुर अँधेरीखोला पहिरोमा डाइभर्सन

असार २५, २०८२

आश गुरुङ

Benisahar-Dumre Road: Diversion at Udipur Andherikhola Landslide

लमजुङ — लमजुङसहित मनाङ जोड्ने बेंसीसहर–डुम्रे सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१ स्थित उदिपुर अँधेरीखोला पहिरोमा डाइभर्सन बनाएर सवारी आवतजावतको व्यवस्था गरिएको छ ।

अँधेरीखोलामा सोमबार रातिदेखिको पहिरोले सडक नै बगाउन थालेपछि डाइभर्सनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए । उनका अनुसार सोमबार रातिदेखि पहिरोले सडक भासिन थालेपछि मंगलबार साँझसम्म वैकल्पिक सडक मर्मत गरिएको थियो ।

उनका अनुसार वैकल्पिक सडक नेपाली सेनाको चण्डीप्रसाद गण उदिपुर ब्यारेकअन्तर्गतको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको हो । वैकल्पिक सडक बिहान ५ बजेदेखि राति १० बजेसम्मका लागि खुला गरिएको छ । उक्त सडकमार्फत बुधबार बिहानैदेखि सवारीसाधन आवतजावत हुन थालेका छन् ।

वैकल्पिक सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले पहिरो गएको स्थानमा ग्याबिन पर्खाल उठाइएको र आगामी २–३ दिनमा सकिएपछि पुनः मूल सडक सञ्चालनमा आउने जानकारी दिए । गत वर्षहरूमा पनि उदिपुर डाँडामा पहिरो जाँदा नेपाली सेनाको ब्यारेक हुँदैको वैकल्पिक सडक प्रयोगमा ल्याइएको थियो ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully