काठमाडौँ — बेँसीसहर–डुम्रे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-१, उदीपुर नजिकै अँधेरी खोलामा सुक्खा पहिरो खस्दा सडक आंशिक बन्द भएको छ ।
सोमबार रातिदेखि सडकमुनि सुक्खा पहिरो खस्दा सडक बग्ने अवस्थामा पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले पहिरोका कारण साना सवारी मात्र एकतर्फ सञ्चालन भइरहेको छ ।यात्रुबाहक ठूला बस, माइक्रोबस, ट्रक, ट्रयाक्टर आवतजावत बन्द भएको उनले बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक भीमबहादुर रानाभाटका अनुसार बस र माइक्रोबसमा यात्रुलाई ओरालेर यात्रा गराइएको र यात्रा जोखिमपूर्ण रहेको बताए ।
अँधेरीखोलाको सडक मर्मत गर्ने भनी डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले अहिले तल्लो क्षेत्रबाट पर्खाल लगाउँदै आएको छ । बर्खायाममा तल्लो क्षेत्रमा काम गरेको र माटो बगाउँदै आएकाले सडककै सुरक्षाका लागि गरिएको कार्यले सडक नै बगाउने अवस्थामा पुगेको नागरिकको गुनासो छ ।
डीएसपी बोहराले वैकल्पिक सडकको व्यवस्थापनका लागि पहल भइरहेको बताए । प्रहरीले अत्यावश्यकबाहेक सवारी प्रयोग नगर्न अनुरोध गरेको छ ।
