म्याग्दी — उत्तरी चीन सीमावर्ती लोमन्थाङ गाउँपालिका–२ छोसेरमा पर्ने लोमन्थाङ–कोरला सडक खण्डको नेचुङ छेउको चुङजुङ खोला (नाम्डो खोला)मा आएको बाढीले तीनवटा पुलमा क्षति पुर्याएको छ ।
लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार नेपाल–चीन सीमावर्ती मुस्ताङ हिमश्रृंखलाको छुआमा पिक हिमाल फेदीमा पर्ने जाका हिमताल वा अन्य कुनै हिमताल फुटेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।
लोमन्थाङ गाउँपालिका–४ छोन्हुपदेखि माथि रहेको छुआमा पिक फेदीबाट आएको बाढी चुङजुङ खोला हुँदै तल छोसेरमा आएर कालीगण्डकी नदीमा मिसिएको छ । बाढीले छोन्हुप क्षेत्रका तीन वटा मोटर पुलमा क्षति पुर्याएको छ । बाढीले कालीगण्डकी करिडोरको कोरला नाका जोड्ने मोटर पुलसमेत जोखिममा परेको छ ।
लोमन्थाङ गाउँपालिका–२ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङका अनुसार लोमन्थाङ क्षेत्रमा पछिल्लो एक सातादेखि वर्षा भएको छैन ।
वडाध्यक्ष गुरुङका अनुसार विस ०४४ सालमा पनि छोन्हुपदेखि माथि नेपाल–चीन सीमावर्ती मुस्ताङ हिम श्रृंखलाको छुआमा पिक फेदीको एउटा हिमताल फुट्दा आएको बाढीले छोसेर नजिक नाम्सुङमा सयौं रोपनी खेतीयोग्य जमिन पुरेको थियो ।
सोही बाढी कालीगण्डकी नदी मिसिएर आएको बाढी पस्दा मुस्ताङसहित म्याग्दीका दाना, तातोपानी, पोखरे बगर, तिप्ल्याङ हुँदै बेनीको कालीपुल बजार डुबानमा परेको थियो ।
