लमजुङ — दूधपोखरी गाउँपालिका–६, जोर्ने नजिकै निगालो घारीमा अड्किएर फसेको हिमाली कालो भालुको बच्चालाई उद्धार गरी प्राकृतिक वासस्थानमा छोडिएको छ ।
डिभिजन वन कार्यालय लमजुङ अन्तर्गतको सब डिभिजन वन कार्यालय राइनास–दूधपोखरीबाट खटिएका कर्मचारीले पोथी भालु बच्चाको उद्धार गरी भैंसीको दूध खुवाएर प्राकृतिक वासस्थानमा छोडेका हुन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी वन अधिकृत सन्तोष खनालका अनुसार हिमाली कालो भालुको बच्चा जोखिममा रहेको जानकारी आएपछि कर्मचारी पुगेर उद्धार गरिएको थियो ।
झन्डै दुई महिनाको हिमाली कालो भालुको बच्चालाई सोमबार उद्धार गरी एक दिनको बाटो हिँडेर प्राकृतिक वासस्थानमा लगेर छाडिएको सब डिभिजन वन कार्यालय राइनास–दूधपोखरी प्रमुख वन अधिकृत टीकाराम चापागाईंले बताए ।
उनका अनुसार जोर्नेको मानव बस्ती नजिकै निगालोमा अड्किएको उक्त भालुको बच्चालाई बाख्रा चराउने जाने क्रममा स्थानीयलाई देखेका थिए । निगालोको झ्याङमा अड्किएको भन्ने जानकारी पाएपछि आफूसहित कर्मचारीको टोली पुगेर उद्धार गरिएको उनले बताए ।
‘हिमाली कालो भालुको आहारा भनेको निगालोको टुसा हो । त्यही टुसा खोज्दै भालु तल्लो क्षेत्रमा आएको हुन सक्छ । बस्ती नजिकै आएपछि माउले बच्चा छोडेर गएको हुन सक्छ,’ उनले भने । बच्चा आफैं बाच्न सक्ने भएपनि भैंसीको दूध खुवाएर प्राकृतिक वासस्थानमा पुर्याएको उनले बताए ।
उनका अनुसार हिमाली कालो भालु साधरणतया समुद्री सहतको २ हजार ५ सयदेखि ४ हजार २ सय मिटर उचाइमा बस्ने जंगली जनावर हो । तर, जोर्नेको करिब २ हजार मिटरको क्षेत्रमा यो भालु फेला परेको छ । आहाराको खोजीमा तल्लो क्षेत्रमा आएको र मानिसको आवाज सुनेपछि माउ भालु भागेको हुनसक्ने उनले बताए ।
