दाउन्नेमा दुईतर्फी यातायात सञ्चालन

असार २३, २०८२

नारायण शर्मा

Two-way traffic operation at Downne

नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने सडक खण्डको हिलो सुकेपछि दुईतर्फी नै यातायात सञ्चालन भएको छ ।

दाउन्नेको हिलाम्य सडक सुकेका कारण विश्वकर्मा मन्दिर नजिकमा गाडी फस्ने समस्या हटेको छ ।

राजमार्ग सुख्खा भएर गाडी नफसेका कारण दाउन्नेमा सोमबार बिहानैदेखि दुईतर्फी नै यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका सयौं गाडी दाउन्नेमा वारपार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनायो ।

राजमार्ग स्तरोन्नतिको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्ग सुख्खा भएर काम गर्न सहज हुँदासमेत दाउन्नेमा सडक मर्मतको काम भने गरेको छैन ।

सडक सुख्खा भएका कारण त्यहाँ ग्राभेल लैजान र सम्याउन सजिलो भएपनि ठेकेदारले सडक सम्याउने र नाला निर्माण गर्ने काम भने गरेको छैन ।

सामान्य वर्षात हुनासाथ मालवहाक गाडी फस्ने गरेका कारण हरेक दिन लामो जाम हुने गरेर सयौं गाडीले सास्ती भोग्ने समस्या उस्तै छ ।

गत तीन सातायता पहिलो पटक सोमवार दाउन्नेमा दोहोरो यातायात सञ्चालन भएको हो ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully